सौराहामा डुंगा सयर गर्ने नयाँ रूट सञ्चालनमा, पर्यटकको घुइँचो

मंसिर ८, २०८२ |राजु चौधरी
सौराहामा डुंगा सयर गर्ने नयाँ रूट सञ्चालनमा, पर्यटकको घुइँचो

चितवन । चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज नै हो । 

त्यससँगै यहाँका सामुदायिक वनमा घुम्ने पर्यटकहरू पनि उत्तिकै हुन्छन् । सौराहा आउने पर्यटक निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारी, जंगल वाक, तथा डुंगा सयर गर्न मन पराउँछन् । सौराहा क्षेत्रमा तीनवटा मात्रै डुंगा सयर गर्ने रूट रहेकोमा अहिले थप नयाँ रूट निर्माण गरिएको छ । उत्तरमा सामुदायिक वन र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदीमा अहिले नयाँ डुंगा सयर रूट बनाइएको हो ।

सौराहा आउने पर्यटकका लागि डुंगा सयर गर्ने यो नयाँ र शान्त रूट हो । कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै राप्ती नदीको जिन्दगानी घाटबाट सुरू हुने डुंगा सयर भीमपुरघाटसम्म करिब ६ किलोमिटर यात्रा गरेपछि टुंगिन्छ । यति यात्रा गर्न कम्तिमा सवा घन्टासम्म लाग्छ । 

अहिले भइरहेका तिनवटा डुंगा सयर रूट भन्दा यो क्षेत्रमा निकै फरक अनुभूति गर्न सकिन्छ । स्तरीय पर्यटकलक्षित गरी बनाइएको यो रूटलाई वनबास रिसोर्टले प्रवर्द्धन गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जले टेन्डर आह्वान गरेपछि किनार रेस्टुरेन्ट एन्ड बारले यो रूटमा डुंगा सयर सुरू गरेको हो ।

चारैतिर ठूलो जंगलका बीचमा बग्ने यो राप्ती नदीमा शान्त वातावरण, कतै पनि मानवीय संरचना नदेखिने र प्राकृतिक वातावरणको मज्जा लिन सकिन्छ । डुंगा सयरका क्रममा विभिन्न प्रजातिका चराचुरूङगी, गोही, बाघ, गैंडालगायतका वन्यजन्तुहरूसमेत देख्न सकिन्छ । डुंगा सयर सकेर फर्किदा कुमरोज सामुदायिक वन छिचोलेर बाहिरिनपर्छ । त्यसबेला पनि वन्यजन्तुहरू अवलोकन गर्न सकिन्छ । यसले गर्दा पनि पर्यटकहरूलाई यो रूटले उत्साह थपेको छ ।

यो रूटमा अहिले १२ वटा डुंगाले सयर गराउँछ । डुंगा सयर गर्दा निकुञ्ज र सामुदायिक वन प्रवेश गर्नुपर्ने भएकाले विदेशी पर्यटकलाई सबै टिकट गरी तीन हजार रूपैयाँ र स्वदेशी पर्यटकका लागि ८ सय रूपैयाँ तोकिएको छ । डुंगा सयरका लागि रहेका अन्य तीनवटा रूटमा पछिल्लो समय चाप बढ्दो रहेकाले यो नयाँ रूटले पर्यटकलाई लोभ्याउन सक्छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।