भोजपुरको 'मुन्दुम ट्रेल’ पदमार्ग पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै

मंसिर १५, २०८२ |अर्जुन बस्नेत
भोजपुरको 'मुन्दुम ट्रेल’ पदमार्ग पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै

भोजपुर । भोजपुरको 'मुन्दुम ट्रेल’ पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

गत वर्ष ५० हजारले अवलोकन गरेको यो पदमार्ग यस वर्ष तीन महिनामै २० हजार पर्यटकले अवलोकन गरिसकेका छन् । नेपालको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यमा समेटिएको भोजपुरको 'मुन्दुम ट्रेल’ पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी संस्कृतिले भरिपूर्ण यो पदमार्गमा विशुद्ध लेकाली हावापानीसँगै हिमाल, पहाडका थुम्का, बिहानीको सुर्योदय, समथर फााटको दृश्यावलोकन, विभिन्न थरीका जडीबुटी, चरा र रेडपान्डासमेत नजिकबाट नियाल्न सकिने भएकाले पछिल्लो समय यो पदमार्गमा बाह्य तथा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । यस पदमार्गमा टेम्के साल्पापोखरीजस्ता धार्मिकस्थलहरू भएकाले पनि धार्मिक पर्यटकसमेत बढेका छन्।

भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बुको भूभागमा रहेको यो पदमार्गमा पर्यटकले ट्याम्के डाँडाबाट देखिने मनोरम हिमालय शृखंला, हाँसपोखरी, साल्पापोखरी र सिलिचुङ डाँडालगायत दर्जनौं आकर्षक स्थलहरू अवलोकन गर्न सकिन्छ । यात्रामा बाटो बिराएर गलत बाटो जानसक्ने भएकाले सहज हुने गरी बाटोमा संकेतहरू राख्नु आवश्यक रहेको पर्यटक बताउँछन् ।

करिब १ सय ५३ किलोमिटर रहेको मुन्दुम पदमार्ग हाल आवास, खानेपानी र होमस्टे सेवा विस्तार हुँदै गएको छ भने बस्नलाई गाउँपालिकाहरूले सामुदायिक पर्यटन प्रवर्द्धनका लागि स्थानीयस्तरमै गोठ, होमस्टे र विश्रामस्थल निर्माण गरिरहेका छन् । 

यहाँका स्थानीय बाली कोदो, फापर, गहुँ, आलु, रायो, सिमीलगायतका कृषिजन्य उत्पादन र चौारीको दूध, लोकल कुखुरा, ढिँडोलगायत स्वादिष्ट परिकारको स्वाद पर्यटकको रोजाइमा पर्नेगरेको छ । पदमार्गमा अहिले आन्तरिक र बाह्य पर्यटकको घुइँचो छ । जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको छ।

यो पदयात्रा पूरा गर्न नेपाली यात्रीहरूलाई सातदेखि नौ दिन र विदेशीलाई नौ देखि १५ दिन लाग्ने गरेको छ । तर छोटो दूरीको यात्रा भने तीनदेखि पाँच दिनमै पूरा गर्न सकिन्छ । भोजपुरको तावा भन्ज्याङबाट सुरू हुने यो पदमार्ग टेम्केडाँडा, चखेवाभन्ज्याङ, धोद्रे, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरी, मैयुङ, एकराते र बाघखोर हुँदै भोजपुर बजार आइपुगि टुंगिन्छ । 


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।