
काठमाडौं । भारतमा चर्चित फुटबल स्टार लियोनल मेसी सहभागी कार्यक्रममा बोतल तथा कुर्सी प्रहार भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सार्वजनिक रूपमा माफी माग्नु भएको छ ।
कार्यक्रम कोलकाताको साल्ट लेक स्टेडियममा भएको थियो । कार्यक्रम व्यवस्थित हुन नसकेको र मेसी कार्यक्रमस्थलबाट चाँडै निस्किएको भन्दै आक्रोशित प्रशंसकले बोतल प्रहार गरेको घटनामा मुख्यमन्त्री बनर्जीले माफी माग्नुभएको हो । घटनाबारे छानबिन गर्न पश्चिम बंगाल सरकारले समिति गठन गरेको छ भने आयोजकलाई पक्राउ गरिएको छ ।
१० देखि १२ हजारसम्म टिकट किनेर रंगशाला पुगेका दर्शकले मेसीलाई देख्न नपाएपछि बोतल र अन्य वस्तु रंगशालामा फालेका भारतीय सचार माध्यमले जनाएका छन् । भीड नियन्त्रण नभएपछि मेसी २० मिनेटमात्रै रंगशालामा देखिनुभएको थियो । मेसी पर्सी अर्थात् साेमबारसम्म भारतमा रहने कार्यतालिका रहेको छ । उहाँ हैदराबाद, मुम्बई र नयाँ दिल्लीसम्म जाने कार्यक्रम छ ।