सगरमाथा आरोहणका लागि डोरी टाँगेर बाटो बनाइँदै

अनुमति लिने क्रम जारी, केही दिनमै आरोहण थालिने
चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
सगरमाथा आरोहणका लागि डोरी टाँगेर बाटो बनाइँदै

काठमाडौं । हिमाल केवल भूगोल मात्रै होइन नेपालको गौरव पनि हो । हरेक वर्ष हजारौं विदेशी पर्वतारोही नेपालका हिमाल आरोहण गर्न आउँछन् । यसरी आउनेमध्ये धेरैको रोजाइ सगरमाथा, ल्होत्से, चोयु, ग्याङचुङ, अन्नपूर्ण, मकालुजस्ता हिमाल पर्ने गरेका छन् । यो सिजनका लागि नेपालका हिमाल आरोहण गर्न १८ टोलीले अनुमति लिएका छन् । योसँगै सर्वोच्च शिखर सगरमाथामा आरोहीका लागि बाटो बनाउने काम सुरु भइसकेको छ ।

अहिले वसन्त ऋतुको सुरुवात भइसकेको छ । यो ऋतु हिमाल आरोहणको उपयुक्त सिजन हो । आरोहीहरुले पर्यटन विभागबाट धमाधम अनुमति लिन थालेका छन् । हिमाल आरोहण गर्न जानेले सरकारलाई रोयल्टी तिर्नुपर्छ । सबैभन्दा बढी सगरमाथा आरोहण गर्नेले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ । अहिलेसम्म १८ वटा टोलीले विभागबाट अनुमति पाएका छन् । उनीहरुबाट २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । मौसमले साथ दिए यो सिजनको आरोहण केही दिनमै सुरु हुनेछ ।

हिमाल आरोहणको अनुमति लिने क्रम सुरु भएसँगै सगरमाथामा आईसफल डाक्टरको टोली पुगेर बाटो बनाउन थालिसकेको छ । आइसफल डाक्टरको टोलीले चैत १ गते पूजा गरेर बाटो बनाउन लागेको हो । शेर्पा समुदायले हिमाल आरोहण गर्नुपूर्व हिमालको पूजा गर्ने चलन छ । यो टोलीले सगरमाथाको पहिलो शिविरसम्मको बाटो बनाइसकेको छ । अबको केही दिनमा दोस्रो शिविरसम्मको बाटो बनाइसक्ने पर्यटन विभागका निर्देशक राकेश गुरुङ बताउँछन् ।

सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले पर्यटन विभागसाग सहकार्य गरेर हरेक वर्ष सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गर्छ । आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि एसपीसीसीले बाटो बनाउन दक्ष कामदार खटाउँछ । यसपटक बाटो बनाउन आङ सार्की शेर्पा नेतृत्वको आठ सदस्यीय टोली खटिएको छ । यो टोलीले दोस्रो शिविरसम्मको बाटो बनाएपछि चुचुरोसम्म डोरी टाँग्ने काम गर्ने सेभेन समिट ट्रेकले गर्ने अध्यक्ष मिङ्मा शेर्पा बताउँछन् ।

बाटो कहाँबाट र कसरी तयार गर्ने भन्ने जिम्मा टोली संयोजकको हुन्छ । डोरी र भर्‍याङ प्रयोग गरेर बाटो बनाएपछि आरोहण गाईडले आरोही लिएर चुचुरोतर्फ जाने क्रम सुरु हुन्छ ।

आरोहण अभियान सकिएपछि टाँगिएका डोरी, भर्‍याङलगायत सामग्री निकाल्ने जिम्मेवारी पनि त्यही टोलीको हुन्छ । आरोहणमा प्रयोग हुने डोरी अमेरिका, क्यानडा र कोरियाबाट ल्याउने गरिएको छ । आधार शिविरबाट दोस्रो शिविरसम्म बाटो बनाउँदा ५५ सय मिटर डोरीको प्रयोग हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement