
सिन्धुपाल्चोक । हिमाल चढ्नु आफैंमा रोमाञ्चक भए पनि उत्तिकै जोखिमपूर्ण छ।
तर यो जोखिमलाई ज्येष्ठ नागरिकहरू चुनौती दिँदैछन् । सिन्धुपाल्चोकमा पर्ने जुगल हिमाल आरोहणमा पछिल्लो समय ६० वर्ष कटेका विदेशी आरोहीहरूको सहभागिता बढ्दै गएको छ । उमेरले ६ दशक नाघिसक्दा पनि अदम्य साहस र प्रकृतिसँग पौंठेजोरी खेल्ने मोह बेलायतका ६१ वर्षीय जेम्स पेरेयरसँग छ।
अनि यही साहसले उहाँले हालै ५ हजार ९ सय २२ मिटर अग्लो सिन्धुपाल्चोकको जुगल हिमालको सफल आरोहण गर्नुभएको छ । पेरेयरको यो पहिलो पर्वतारोहण होइन । उहाँले यसअघि विश्वकै अग्लो शिखर सगरमाथाको आरोहण गरिसक्नुभएको छ । अमेरिका, पेरू, फ्रान्सलगायतका देशका कठिन मानिने हिमालहरू पनि आरोहण गर्न सफल आरोही हुनुहुन्छ । तर, जुगल हिमालको अनुभव भने उहाँका लागि पूर्णरूपमा फरक रह्याे ।
अर्का आरोही क्याथीको आरोहण सुरू हुनुअघि शरीर पूर्णरूपमा तन्दुरूस्त थिएन । लामो हिडाइ, थकान, उचाइमा श्वास-प्रश्वासको कमी-यी सबैले उहाँलाई बीच-बीचमा आरोहण रोक्न बाध्य पार्थ्यो । तर, जुगल हिमालप्रतिको आकर्षण, शिखरमा पुग्ने जिद्दी र टिमको निरन्तर हौसलाले उहाँलाई आरोहण जारी राख्न उत्प्रेरणा मिल्यो ।
प्राकृतिक सुन्दरता, हिमाली बस्ती र हिमालको कठोर मौसम र कठिन बाटोका बाबजुद पनि जुगल पुग्ने आरोहीहरूका लागि जोखिम डर होइन, रोमाञ्चक बन्न पुगेको छ । वृद्व उमेरका आरोहीहरू हिमाल आरोहणलाई अवसरका रूपमा लिँदै कठिन बाटो पार गर्दै सफलतापूर्वक शिखरसम्म पुगिरहेका छन् ।
पछिल्लो समय जुगल हिमाल क्षेत्रमा आरोहीको चाप बढिरहेको छ । तर आवश्यक पूर्वाधार, सेवा-सुविधा र स्रोतको अभावले यस क्षेत्रको विकासलाई चुनौती दिइरहेको छ । आरोहणका लागि आवश्यक भरिया, गाइड र प्राविधिक सहयोग पनि नपाइँदा थप समस्या छ । सिन्धुपाल्चोकमै तालिमप्राप्त पर्याप्त जनशक्ति नहुँदा सामान बोक्ने भरियादेखि गाइडसम्म सोलुखुम्बुजस्ता हिमाली क्षेत्रमा निर्भर रहनुपरिरहेको व्यवसायीहरूको गुनासो छ ।
जुगल गाउँपालिका पर्यटन समतिका अध्यक्ष तथा आरोही मिलन तामाङको नेतृत्वमा उहाँहरू हिमाल आरोहण गर्न सफल भएका हो । पछिल्लो समय आरोहीको बढ्दो आकर्षणले थोरै समयमै जुगल अन्तर्राष्ट्रियस्तरमा चिनिन थालेको छ । तर, आरोहीको चापसँगै बेसक्याम्पसम्म पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनीहरूको सुझाव छ ।
जुगल हिमालमा जोखिम, उमेर र चुनौतीलाई जित्दै बढ्दो संख्यामा विदेशी आरोहीहरूको सहभागिताले यस क्षेत्रको पर्वत पर्यटनमा नयाँ उत्साह थपिएको छ ।