एनपीएलको दोस्रो संस्करण समापनसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उज्यालो

सुरक्षा व्यवस्थाको सर्वत्र प्रशंसा
मंसिर २७, २०८२ |विनयज्योति सापकोटा
एनपीएलको दोस्रो संस्करण समापनसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उज्यालो

काठमाडौं । नयाँ विजेता पाउँदै नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करण सकियो । 

यस संस्करणले विभिन्न आयाममा एनपीएलको प्रभाव विस्तार भइरहेको प्रष्ट देखाएको छ । टेस्ट राष्ट्रका खेलाडी अघिल्लो वर्षभन्दा यो वर्ष ज्यादा आए । स्टार भेट्रान्स खेलाडीको आगमनले एनपीएलको रोमाञ्चकता मात्र बढेन प्याराफिट र फ्लडलाइटको उज्यालोले दर्शकमा उल्लास पनि थप्यो । 

सबैभन्दा ठूलो कुरा, विना अबरोध सम्पन्न एनपीएलको दोस्रो संस्करणले जेन-जी आन्दोलनपछि नेपालमा ठूला कार्यक्रमका लागि सुरक्षा चुनौती छ भन्ने भाष्यलाई गलत सावित गरिदियो । गत वर्षको पुष ६ गते एनपीएलको पहिलो संस्करण सकिँदा प्यारफिटमा बसेर फ्लडलाइटको उज्यालोमा खेल हेर्न पाइएला भन्ने धेरैलाई लागेको थिएन । 

वैशाख २० गते सक्ने भनिए पनि समयमै प्याराफिट र फ्लडलाइट बन्न सकेन । पूर्वाधार सम्पन्न नहुँदा प्रतियोगिता आयोजनाबारे नै अन्योल थियो । तर मंसिर २ गते, सहरी विकास मन्त्रालयले प्रतियोगिता आयोजनाका लागि क्यानलाई प्याराफिट र फ्लडलाइट हस्तान्तरण गरेसँगै एनपीएलको पहिलो दिनदेखिका खेल नै डे नाइट हुन सम्भव भयो ।

अहिले एनपीएलमा सातै प्रदेशको टिमका दर्शक एकसाथ भेला भएर खेल हेरिरहँदा मैदान उत्सवमय बन्यो । मैदानको रौनकनै बेग्लै । कुनैबेला टीभी नहुँदा ठूला क्रिकेट खेलको रेडियोमै 'कमेन्ट्री' सुन्नेदेखि भर्खरै स्कुल जाँदै गरेका बच्चासम्म मैदानमा देखिए । 

उनीहरूले नेपाली क्रिकेटले मारेको छलाङ प्रत्यक्ष अनुभूत गरेका छन् । कति समर्थक दशकौंदेखि क्रिकेटलाई समर्थन गर्दै आइरहेका छन् । कोही यही एनपीएलबाट नेपाली क्रिकेटको समर्थक बनेको देखिन्छन् । टीयूसम्म पुग्न दर्शक र समर्थकहरूलाई तीन कुराले प्रेरित गर्‍यो - बताउने गरेका छन् । प्याराफिट र फ्लडलाइटले भरेको सुन्दरता, ग्लोबल स्टार खेलाडीको प्रदर्शन र आफ्नो ठाउँको टिमप्रतिको समर्थन ।

एनपीएलमा ओभरसिज खेलाडीको प्रभाव उनीहरूले जोडेको रन र लिएको विकेटभन्दा धेरै माथि छ । विगतको अनुभव सेयरिङ, टिममा अनुबन्धपछि बढ्ने सकारात्मक उर्जा, विदेशमा बढ्ने चर्चा, प्रतियोगिताको ब्रान्ड भ्यालुमा पर्ने प्रभाव र नेपाली क्रिकेटको विकासमा पर्ने प्रत्यक्ष असर यसका अन्य आयाम हुन् ।

पोखराका एडम रसिङ्टन र कर्णाली याक्सका मार्क वाट मात्रै एनपीएलमा अहिलेसम्म शतक जोड्न सक्ने खेलाडी हुन् । टीयूको स्लो पिचमा शतक आफैंमा माइलस्टोन हो । जुन नेपाली खेलाडीले दुई सिजन बितिसक्दा प्राप्त गर्न सकेका छैनन् । तर धैर्य, क्लास र प्रपर क्रिकेटिङ सर्ट भयो भने टीयूमा पनि शतक बन्न सक्छ भन्ने उनीहरूले देखाए ।

दोस्रो संस्करणको लिगमा साविक विजेता जनकपुर बोल्ट्स तालिकाको अन्तिम स्थानमा रहँदै बाहिरियो । गत सिजन तालिकाको अन्तिम स्थानमा रहेको लुम्बिनी लायन्स फाइनल पुगेपछि यो प्रदर्शनको चर्चा सबैतिर रहृयो । दुई संस्करण सकिँदा पोखरा एभेन्जर्स मात्रै प्ले अफमा नपुग्ने एकमात्रै टिम बनेको छ ।

यो सिजनमा विराटनगरले डु प्लेसी, मर्चेन्ड डी ल्याङ्गा, जर्ज मुन्जीजस्ता हेभिवेट खेलाडी अनुबन्ध गरेको थियो । तर ब्याटिङ लाइनअप नै धरासायी बन्दै प्रतियोगिताकै बलियो भनिएको टिम फराकिलो हारसँगै बाहिरियो । यसले टी-२० क्रिकेटको अनिश्चितालाई प्रष्ट पारेको छ, क्रिकेटको रोमाञ्चकता मैदानमा प्रष्ट देखिएको छ ।

केही समयअघि मात्रै काठमाडौंमा विध्वंस भएको पृष्ठभूमिमा खेल मैदानमा भेला हुने भीड जता पनि डाइभर्ट हुन सक्ने स्थिति थियो । डेविड मलान, फाफ डु प्लेसी, जेसन रोय, नजिबुल्लाह जद्रान, जिम्मी निशम, जोन सिम्पसन जस्ता खेलाडी आएको प्रतियोगितामा अप्रिय घटना भए विश्वभर नेपालप्रति नराम्रो सन्देश जान सक्ने थियो । तर प्रहरीले कुनै किसिमका अप्रिय गतिविधि हुन दिएनन् । 

रात्रिकालीन क्रिकेट हुने भएपछि विशेष सुरक्षा व्यवस्था आवश्यक थियो । नेपाल सरकारले प्रहरी परिचालन गरेपछि बेटिङमा संलग्न मानिस समेत पक्राउ परेका छन् । यसले शान्ति सुरक्षाको प्रत्याभुति मात्र दिएन बुद्धको जन्मभूमी नेपालको शान्तिप्रियतालाई विश्वभर छरेको छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।