कसरी गर्ने मर्दी हिमाल ‘ट्रेक’ ?

मंसिर ३, २०८२ |भुपाल गुरुङ
कसरी गर्ने मर्दी हिमाल ‘ट्रेक’ ?

कास्की । छोटो पदयात्रा गर्न खोज्नेहरू माझ निकै चर्चित छ कास्कीको मर्दी हिमाल पदमार्ग । 

दुई रात तिन दिनमा पूरा गर्न सकिने यो पदयात्रा व्यस्त दैनिकी भएका र किशोर-किशोरीदेखि ज्येष्ठ नागरिकसम्मको रोजाइमा पर्ने गर्दछ । पर्यटकका लागि सहज र सुविधायुक्त संरचना तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण यो पदमार्गको यात्रा कसरी गर्ने त ?

सन् २०१२ बाट औपचारिकरूपमा सुरू भएको मर्दी हिमाल पदमार्गमा जानका लागि कास्कीको लुम्ले काँडे, धम्पुस, लान्द्रुक, कालिमाटी र सिदिङ्गको बाटो प्रयोग गर्न सकिन्छ । यी बाटोहरूको संगमस्थल भने लाे क्याम्प हो । पदयात्रामा जानका लागि पोखरामा बिहानको खाजा खाई गाडीको यात्रा गर्नुपर्दछ । 

पहिलो दिन पोखराबाट २७ किलोमिटरको यात्रा गरेर कास्कीको काँडेमा ओर्लिएपछि यात्रा अस्ट्रेलियन क्याम्प हुँदै पोथनातर्फ अघि बढ्छ भने अर्को बाटो फेदी हुँदै धम्पुसबाट पोथनाको यात्रा गर्न सकिन्छ । यी दुवै बाटोमा करिब दुई घन्टा उकालो हिँडेपछि पोथना पुगिन्छ । 

पदयात्री पोथनादेखि उकालो ओरालो गर्दै पितम देउराली पुगेर बिहानको खाना खाने गर्छन् । खानापछि यात्रा फरेस्ट क्याम्पतर्फ अघि बढ्छ । लभ्ली हिलको उकालो र कोकर ढााडखर्कको तेर्सो बाटो हुँदै करिब तीन घन्टा हिँडेपछि फरेस्ट क्याम्प पुगिन्छ । 

कोही पदयात्री पहिलो रातको बास फरेस्ट क्याम्पमा बस्छन् भने कोही अलिमाथि रेस्ट क्याम्प र लो क्याम्पसम्म पुग्छन् । लान्द्रुक हुँदै आउनेहरू पनि फरेस्ट क्याम्प नजिकै मिसिन्छन् । यो पदमार्गमा जाने अधिकांश पर्यटक भने सिदिङ्गको बाटो प्रयोग गर्दछन् । 

पोखरादेखि करिब दुई घन्टाको गाडीको यात्रापछि पुगिने सिदिङ्गबाट लो क्याम्प पुग्न करिब तीन घन्टाको उकालो हिँड्नुपर्छ । त्यसैले प्राय लुम्लेकाँडे हुँदै जाने र सिदिङ्ग हुँदै फिर्ता हुने गर्दछन् । दोस्रो दिन लाे क्याम्पमा बिहानको खाजा खाएपछि यात्रा बादलडाँडा हुँदै हाइ क्याम्पतर्फ अघि बढ्छ । 

करिब डेढ घन्टा हिँडेर गुराासे जंगल छिचोलेपछि चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता १४ वटा हिमश्रृङ्खला देखिने बादलडाँडा पुगिन्छ । आँखै अगाडिका हिमश्रृङ्खलालाई नियाल्दै डेढ घन्टाको हिँडाइपछि ३५ सय ५० मिटरको उचाइमा रहेको हाइक्याम्पमा दोस्रो दिन बास बस्न पुगिन्छ । 

भोलिपल्ट बिहानै हाइक्याम्पबाट करिब दुई घन्टा उकालो लागेपछि समुद्री सतहदेखि ४२ सय मिटर उचाइको भ्युप्वाइन्ट पुगिन्छ । त्यहाँबाट देखिने सूर्याेदय र हिमचुली, अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी हिमाललगायतको मनमोहक दृश्यले सबै थकान बिर्साउँछ ।

अधिकांश पर्यटक भ्युप्वाइन्टबाटै फर्किने गरे पनि केही भने एक दिन थप हिँडेर मर्दी हिमालको आधार शिविरसम्मै पुग्छन् । यो पदमार्गमा हाइक्याम्पभन्दा माथि बास बस्न होटल छैनन् । आधार शिविर जानेहरूले आफैले सबै बन्दोबस्त गर्नुपर्ने हुन्छ । हाइक्याम्पमा भने एकैरातमा ६ सय पाहुना राख्नसक्ने होटेल लज छन् ।

भ्यु प्वाइन्ट पुगेर हाइक्याम्प फर्किएपछि सोही दिन यात्रा पोखरातर्फको हुनेछ । फर्किने बेला बादलडाँडा हुँदै तेस्रो दिन करिब तीन घन्टा आरालो झरेपछि सिदिङ आइपुगिन्छ । सिदिङबाट गाडी पाउने भएकाले पदयात्रीहरू दुई घन्टामै पोखरा आइपुग्छन् । तर विस्तारै हिाड्न र समय बिताउन चाहनेहरूका लागि भने यो पदमार्गको यात्रा लम्ब्याउन सकिन्छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।