अलेक्जेन्डर ज्वेरेभ : आँसु, चोट र संघर्षपछि च्याम्पियन

भाद्र ३०, २०८३ |अभय बस्नेत
अलेक्जेन्डर ज्वेरेभ : आँसु, चोट र संघर्षपछि च्याम्पियन

काठमाडौं । सन् २०२० को युएस ओपन फाइनलमा दुई सेटको अग्रता लिएर पनि जित हात पार्न नसकेपछि अलेक्जेन्डर ज्वेरेभले आँसु पुछ्दै एकदिन ट्रफी घर लैजाने वाचा गरेका थिए । 

छ वर्षको प्रतीक्षा, चोट र विभिन्न व्यक्तिगत चुनौती पार गर्दै जर्मन स्टार ज्वेरेभले २०२६ मा आइपुग्दा अन्ततः ग्र्यान्ड स्ल्याम च्याम्पियनको उपाधि चुमेका छन् । अलेक्जेन्डर ‘साशा’ ज्वेरेभको युवा प्रतिभादेखि सफलतासम्मको यो प्रेरक यात्राबारे आज हामी चर्चा गर्दैछौं ।

२०२० को युएस ओपन फाइनलमा न्युयोर्कको आर्थर एस स्टेडियममा डोमिनिक थिमविरुद्ध पहिलो दुई सेट जितेर च्याम्पियनसिपका लागि सर्भ गर्दा, अलेक्जेन्डर ज्वेरेभ ग्र्यान्ड स्ल्याम उपाधिबाट मात्र दुई प्वाइन्ट टाढा थिए । तर, अन्तिम सेटको टाइब्रेकरमा उपाधि हातबाट फुत्किँदा उनी स्तब्ध बने । 

त्यो भावुक खेलपछि उनले भविष्यमा जसरी पनि ग्र्यान्ड स्ल्याम ट्रफी जित्ने वाचा गरेका थिए । ६ वर्षपछि, २०२६ को युएस ओपन फाइनलमा तिनै ज्वेरेभले अमेरिकाका बेन शेल्टनविरुद्ध अन्तिम सर्भिस एस प्रहार गरे । उनी खेलमा यति एकाग्र र ‘इन द जोन’ थिए कि म्याच सकिएको पत्तै नपाई अर्को प्वाइन्ट खेल्न बेसलाइनतर्फ फर्किए । 

जब उनीतर्फ टोलीले इसारा गर्‍यो, तब मात्र उनले महसुस गरे कि, वर्षौंको निराशा र कठिन यात्रा अन्ततः सफलतामा रूपान्तरण भएको छ । सन् २०१३ मा विश्वको नम्बर एक जुनियर खेलाडी बनेका उनले २०१४ मा अस्ट्रेलियन ओपनको ब्वाइज जुनियर उपाधि जिते । 

१७ वर्षको उमेरमै उनले आफ्नो पहिलो एटीपी च्यालेन्जर उपाधि जिते भने ह्यामवर्ग ५०० प्रतियोगिताको सेमिफाइनल पुगेर एटीपीको 'न्युकमर अफ द इयर' बने । सानै उमेरमा दुई एटीपी उपाधि जित्ने क्रममा २०१६ को ह्याले ओपनमा उनले ग्रास कोर्टमा टेनिस दिग्गज रोजर फेडररलाई पराजित गर्दै चर्चा बटुलेका थिए । 

२० वर्षको उमेरमा नोभाक जोकोभिचपछिको सबैभन्दा कान्छो खेलाडीका रूपमा शीर्ष २० मा प्रवेश गरेका ज्वेरेभले सोही वर्ष रोममा जोकोभिचलाई हराएर पहिलो एटीपी मास्टर्स १००० उपाधि जिते । यसका साथै उनले टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदक जिते भने २०१८ र २०२१ मा दुई पटक एटीपी फाइनाल्स तथा सात पटक मास्टर्स १००० उपाधि जितेर ३-सेटको खेलमा आफूलाई शीर्ष खेलाडीका रूपमा स्थापित गरे ।

तर, ज्वेरेभको जीवनमा २०२२ को फ्रेन्च ओपन सेमिफाइनल दर्दनाक मोड बन्न पुग्यो । राफेल नाडालविरुद्ध ३ घन्टाभन्दा लामो प्रतिस्पर्धाका क्रममा उनको दायाँ खुट्टामा गहिरो चोट लाग्यो । उनी ह्विलचेयरमा कोर्ट छाड्न बाध्य भए र शल्यक्रियापछि ६ महिना खेलबाट बाहिर रहे । 

रिह्याबको क्रममा उनले आफ्नो फुटवर्क र कोर्टमा कुद्ने शैलीमा परिमार्जन गरे र पुनरागमनको संकल्पका साथ उनी पुनः एटीपीको शीर्ष १० मा फर्किए । सन् २०२६ ज्वेरेभको करियरको सबैभन्दा स्वर्णिम वर्ष साबित भयो । अस्ट्रेलियन ओपनको सेमिफाइनलमा ५ घन्टा २७ मिनेटको संघर्ष र विम्बल्डनको फाइनल यात्रापछि उनले रोल ग्यारोसमा ऐतिहासिक सफलता हासिल गरे । 

चार घन्टा १६ मिनेट लामो फाइनलमा इटालीका फ्लावियो कोबोलीलाई ५ सेटमा हराउँदै उनले आफ्नो पहिलो ग्र्यान्ड स्ल्याम उपाधि चुमे । यो जितसँगै उनले ८९ वर्षयता फ्रेन्च ओपन जित्ने पहिलो जर्मन पुरुष खेलाडी र सन् १९९६ मा बोरिस बेकरपछि ग्र्यान्ड स्ल्याम जित्ने पहिलो जर्मन खेलाडीको इतिहास रचे ।

त्यसको तीन महिनापछि न्युयोर्कको आर्थर एस स्टेडियममा २४ हजार दर्शकमाझ उनी युएस ओपनको फाइनलमा अमेरिकाका बेन शेल्टनसामु उभिए । खेलको चौथो सेटमा शेल्टनलाई जम्मा ४ प्वाइन्टमा सीमित गर्दै ६-३, ७-६, ५-७, ६-२ को सेटमा जित हासिल गरे ।

२०२० को दबाबको तुलनामा २०२६ को युएस ओपनमा ज्वेरेभ एकदमै मानसिक रूपमा शान्त र परिपक्व देखिए । खेल जितेपछि उनी खेलाडी बक्समा रहेका आफ्ना बुबा तथा प्रशिक्षक अलेक्जेन्डर सिनियरतर्फ फर्किए र सफलताको खुसी साटे ।

ज्वेरेभको खेल जीवनसँगै उनीमाथि पूर्व प्रेमिकाहरू ओल्गा सारिपोभा र ब्रेन्डा पाटेयाद्वारा लगाइएका घरेलु हिंसाका आरोपहरूले पनि निकै चर्चा पाएका थिए । एटीपीले १५ महिना लगाएर गरेको अनुसन्धानले २०२३ मा उनीविरुद्ध कारबाही नगर्ने निर्णय गर्यो ।

त्यस्तै, २०२३ मा बर्लिनको अदालतले जारी गरेको पेनाल्टी अर्डरविरुद्ध ज्वेरेभले पुनरावेदन गरेपछि २०२४ मा अदालतबाहिर दुवै पक्षबीच सहमति भयो । बर्लिन अदालतले यो निर्णय कुनै दोषी वा निर्दोष ठहर गर्ने फैसला नभएको स्पष्ट पार्दै ज्वेरेभको निर्दोषताको कानुनी अधिकार कायम रहेको जनाएको थियो ।

अन्तत: बारम्बारको निराशा, चोटपटक, व्यक्तिगत विवाद र मानसिक दबाब चिर्दै २०२६ मा दुईवटा ग्र्यान्ड स्ल्याम उपाधि जित्नु अलेक्जेन्डर ज्वेरेभको दृढता, निरन्तरको लगाव र आत्मविश्वासको परिणाम हो । 


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।