गोर्खाजको जर्सीमा डेभिड वार्नर, एनपीएलमा नयाँ रोमाञ्च

टीयूमा ‘पावर हिटिङ’को प्रतीक्षा
भाद्र ३०, २०८३ |सुवास रोकाया
गोर्खाजको जर्सीमा डेभिड वार्नर, एनपीएलमा नयाँ रोमाञ्च

काठमाडौं । अस्ट्रेलियाका विश्वविजेता तथा विष्फोटक ओपनिङ ब्याटर डेभिड वार्नरको आक्रमक अन्दज अब टीयू क्रिकेट मैदानमा पनि देखिने भएको छ । 

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले वार्नरलाई अनुबन्ध गरेसँगै नेपाली क्रिकेटप्रेमीले उनको आक्रामक ब्याटिङको प्रतीक्षामा छन् । अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा आफ्नो प्रभाव जमाइसकेका वार्नरको आगमनले एनपीएलको स्तर, रोमाञ्चकता र अन्तर्राष्ट्रिय ब्रान्ड भ्यालू बढाउने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेट पारखीहरुले अस्ट्रेलियाका विष्फोटक ब्याटर डेभिड वार्नरको आक्रमक ब्याटिङ टीयू क्रिकेट मैदानमै देख्न पाउने भएका छन् । यो सुनैलो अवसर जुराएको हो एनपीएलको फ्रेन्चाइझ टोली 'काठमाडौं गोर्खाज'ले । गोर्खाजले तेस्रो सिजनको एनपीएलका लागि बायाँ हाते विष्फोटक ब्याटर वार्नरलाई तेस्रो विदशी खेलाडीका रुपमा हस्ताक्षर गरेको छ । 

एनपीएलको इतिहासकै सबैभन्दा ठूला र 'हाइ-प्रोफाइल' वार्नर र गोर्खाजबीचको सहकार्यले नेपाली क्रिकेटमा रोमाञ्चक र ऐतिहासिक अध्यायको सुरुवात गर्नेछ । सन् १८७७ पछि फस्ट क्लास क्रिकेट नखेली अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट डेब्यू गर्ने वार्नर पहिलो खेलाडी थिए । 

सन् २००९ जनवरी ११ मा दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमै ४३ बलमा ८९ रनको सनसनीपूर्ण इनिङ्स खेलेर उनले विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थिति देखाएका थिए । लगत्तै जनवरी १८ मा दक्षिण अफ्रिकाविरुद्ध नै उनले ओडीआई डेब्यू गरे । 

सुरुमा 'टी-२० विशेषज्ञ'को रूपमा मात्र हेरिएका वार्नरले पछि टेस्ट क्रिकेटमा पनि आफ्नो वर्चश्व जमाए । २०११ डिसेम्बर १ मा न्युजिल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका वार्नरले सोही सिरिजको दोस्रो टेस्टमा अविजित एक सय २३ रन बनाएका थिए ।

भारतविरुद्ध वाका मैदानमा मात्र ६९ बलमा प्रहार गरेको शतक र २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा बनाएको अविजित तीन सय ३५ रनको सानदार नक, उनले सबै प्रारुपको क्रिकेटमा आफूलाई विश्वकै उत्कृष्ट ओपनिङ ब्याटरको रूपमा स्थापित गरे । उनले अष्ट्रेलियाको उप-कप्तानको जिम्मेवारीसमेत सम्हालेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभइ फ्रेन्चाइज क्रिकेटमा पनि वार्नरले आफूलाई ब्रान्डको रुपमा स्थापित गरेका छन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमै सबैभन्दा सफल विदेशी ब्याटर हुन् । सन् २००९ मा दिल्ली डेयर डेभिल्सबाट सुरु भएको उनको आईपीएल यात्रा २०१४ मा सनराइजर्स हैदराबादमा पुग्यो । 

२०१५ मा कप्तान बनेका उनले २०१६ मा हैदराबादलाई आईपीएलको उपाधि नै जिताए । आईपीएलमा ३ पटक (२०१५, २०१७ र २०१९० 'ओरेन्ज क्याप' जितेका वार्नरले, सातवटा सिजनमा ५०० भन्दा बढी रन बनाएका छन् । दुई पटकका ओडीआई तथा एक पटकका टी-२० विश्वकप विजेता ३९ वर्षिय डेभिड वार्नरले २०२१-२३ चक्रको टेस्ट च्याम्पियनसिपको उपाधिसमेत जितेका छन् । 

अस्ट्रेलियाले २०१५ र २०२३ मा जितेको ओडीआई विश्वकप तथा २०२१ को टी-२० विश्वकप यात्रामा वार्नर टोलीका महत्वपूर्ण सदस्य थिए । विश्वभरका लिग क्रिकेटमा प्रभावशाली प्रदर्शनको छाप छाडेका बायाँ हाते ब्याटर वार्नरले आईपीएलमा १ सय ८४ खेल खेल्दै ४ शतक र ६२ अर्धशतकसहित ६ हजार ५ सय ६५ रन बनाएका छन् । 

उनी आईपीएलमा सर्वाधिक रन बनाउने विदेशी खेलाडी हुन् भने सर्वाधिक रनकर्ताको सूचीमा समग्रमा चौथो स्थानमा छन् । अस्ट्रेलियाका लागि १ सय १० टी-२० आई खेलेका वार्नरले १ शतक र २८ अर्धशतकसहित ३ हजार २ सय ७७ रन बनाएका छन् ।

यस प्रारुपमा उनी अस्ट्रेलियाका सर्वाधिक रनकर्ता हुन् । त्यस्तै, अस्ट्रेलियाका लागि १ सय ६१ खेलको १ सय ५९ इनिङ्समा ब्याटिङ गरेका वार्नरले २२ शतक र ३३ अर्धशतकसहित ६ हजार ९ सय ३२ रन प्रहार गरेका छन् । टेस्ट क्रिकेटका १ सय १२ खेलमा उनले २६ शतक र ३७ अर्धशतकसहित ८ हजार ७ सय ८६ रन बनाएका छन् । 

टी-२० क्रिकेटमा पनि वार्नरको ब्याट उस्तै प्रभावशाली रह्याे । ४ सय ३९ खेलका ४ सय ३८ इनिङ्समा उनले १० शतक र १ सय १८ अर्धशतकसहित एक हजार ४ हजार २ सय ८४ रन बनाएका छन् । उनी टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा झन्डै डेढ दशक लामो यात्रालाई वार्नरले २०२४ टी-२० विश्वकपका दैरान विश्राम दिएका थिए । सुपर ८ अन्तर्गत जुन २४ मा अफगानिस्तानले बंगलादेशलाई पराजित गरेपछि अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

आक्रामक ब्याटिङ, निर्भिक शैली र विश्व क्रिकेटका ठूला मञ्चमा निर्णायक प्रदर्शनका कारण डेभिड वार्नरको नाम आधुनिक क्रिकेटका प्रभावशाली ओपनरमध्ये एकका रूपमा स्थापित भएको छ । तर, वार्नरको क्रिकेट यात्रा विवादमुक्त भने रहन सकेन । 

सन् २०१३ मा इंग्ल्यान्डका जो रुटलाई बारमा मुक्का हानेको घटना होस् वा पत्रकारहरूसँगको ट्विटर विवादले उनी पटक-पटक आलोचित भए । उनको करियरको सबैभन्दा ठूलो विवाद सन् २०१८ को केपटाउन बल-टेम्पिरिङ स्यान्डपेपर बन्न पुग्यो ।

क्यामरुन ब्यानक्रफ्टलाई बल बिगार्न उक्साएको मुख्य योजनाकारको रूपमा दोषी ठहरिएपछि क्रिकेट अस्ट्रेलियाले उनलाई १२ महिनाको प्रतिबन्ध लगाउनुका साथै कप्तान बन्नबाट आजीवन वञ्चित गर्यो । एक वर्षको प्रतिबन्ध पछि २०१९ को एकदिवसीय विश्वकपबाट उनले सानदार पुनरागमन गरे ।

वार्नरको आगमनले एनपीएलको उचाइ र विश्वव्यापी ब्रान्ड भ्यालू बढाउने छ । काठमाडौं गोर्खाज र अन्य नेपाली खेलाडीहरूका लागि क्रिकेटिङ युनिभर्सिटी वार्नरले नेपाली समर्थकलाई आजिवन अविस्मरणीय क्षण दिने छन् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।