फेरि भरिँदै पोखराको आकाश, फर्कियो प्याराग्लाइडिङको रौनक

भाद्र ३०, २०८३ |भुपाल गुरुङ
फेरि भरिँदै पोखराको आकाश, फर्कियो प्याराग्लाइडिङको रौनक

पोखरा । हिमालको काख, तालको किनार र प्राकृतिक सौन्दर्यले सजिएको पोखरा, घुम्न जाने पर्यटकका लागि मात्रै होइन, आकाशमा हावा खाने सपना बोकेकाहरूका लागि पनि गज्जबको गन्तव्य बनेको छ । 

धर्तीमा उभिएर आकाशतिर हेर्नु र आकाशबाट धर्ती नियाल्नु, निश्चय नै फरक अनुभूति हो । पोखराको प्याराग्लाइडिङले पर्यटकलाई यही फरक रोमाञ्च दिलाइरहेको छ । पोखराको प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्ने अवसर यहाँको प्याराग्लाइडिङले दिएको छ । 

हावाको लय समाउँदै आकाशमा तैरिँदा देखिने पोखरा, फेवाताल र वरिपरिका हिमशृङ्खलाले उडानलाई झनै अविस्मरणीय बनाउँछ । यहाँ उडान केवल हावामा तैरिनु होइन, केही क्षणका लागि प्रकृतिसँग नजिकिनु र आफ्नै सपनासँग साक्षात्कार गर्नु पनि हो । 

ताल, हिमाल र हरियालीको दृश्यसँगै आकाशमा उडान भर्न पाइने भएपछि प्याराग्लाइडिङ पर्यटकको आकर्षणको केन्द्र बनेको छ । अहिले पोखराका आकासमा ५३ वटा कम्पनीले दैनिक डेढ सय टेन्डम र सोलो उडान गर्छन् । प्याराग्लाइडिङको मज्जा लिन आन्तरिक एवं बाह्य पर्यटक पोखरा आउँछन् । 

बालकदेखि ज्येष्ठ नागरिकसम्मले खेल्न मिल्ने साहसिक खेल भएकाले पनि सबैको रोजाइमा पर्ने गरेको छ । पोखराको तोरेपानीबाट हुने यो उडान केवल हावामा तैरिनु मात्रै होइन, केही क्षणका लागि प्रकृतिसँग नजिकिनु र आफ्नै सपनासँग साक्षात्कार गर्नु पनि हो । 

आकाशबाट देखिने फेवातालको नीलो पानी, पोखरा बजार, हरिया डाँडाकाँडा र मौसम खुलेको समयमा देखिने हिमशृङ्खलाको दृश्यले प्याराग्लाइडिङ गर्नेलाई लोभ्याउँछ । हावाको बेगसँगै आकासमा तैरिन चाहनेहरूका लागि पोखरा प्याराग्लाइडिङको रोमाञ्चक संसार हो । 

आधुनिक उपकरण, अनुकूल हावापानी, प्रशिक्षित पाइलटसँगै गरिने उडानले पर्यटकलाई आकासको रोमाञ्चसँगै सुरक्षाको अनुभूति पनि दिलाउँछ । पर्यटकीय आकर्षणको केन्द्र पोखराको प्याराग्लाइडिङ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विस्तारै पातलिँदै गयो। 

एयर स्पेसको कारण टेकअफ मान्द्रेढुंगा र ल्यान्डिङ पामे सारिएपछि पोखराको आकास सुनसान बन्दै गएको थियो । तर, व्यवसायीको निरन्तर दबाबपछि तोरीपानीबाट टेकअफ र खपौदी चौरमा ल्यान्डिङको अनुमति मिलेको छ । पुरानै ठाँउमा फर्किएको पोखराको प्याराग्लाइडिङ अब पुरानै लयमा फर्किन भने बाँकी छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।