दर्शकको उपस्थिति नबढ्दा फुटबलको रौनक घट्यो

वैशाख २०, २०८० |रेबन दाहाल
दर्शकको उपस्थिति नबढ्दा फुटबलको रौनक घट्यो

काठमाडौं । कुनै समय थियो ए डिभिजन लिगका खेल भन्नासाथ काठमाडौंको दशरथ रंगशाला भरिभराउ हुन्थ्यो । तर पछिल्ला चार सिजनयता सहिद स्मारक ए डिभिजन लिगलाई दर्शकले माया मारेका छन् । पाँच वर्ष रोकिएको लिगले २०७५ सालपछि निरन्तरता पाए पनि दर्शकको उपस्थितिले निरन्तरता पाएन । लिगप्रतिको आकर्षण लगातार घट्दा न शीर्ष डिभिजन टिम दर्शक लोभ्याउन सक्रिय छन्, न एन्फाले नै कुनै योजना ल्याएको छ ।

कुनै समय मनाङ र थ्रीस्टारको खेल हेर्न दशरथ रंगशालामा दर्कश थामी नसक्नु हुन्थे । विभागीय आर्मी र पुलिसको खेलले पनि हजारौंलाई तान्थ्यो । पछिल्ला केही वर्ष मनाङ र मच्छिन्द्र क्लबबीचको खेलले पनि दर्शकलाई मैदानसम्म ल्याउँथ्यो । तर, यसपटक यी कुनै पनि खेलले दर्शक तान्न सकेको छैन । सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा घरेलु फुटबलकै महाभिडन्त मानिने मनाङ र थ्रीस्टारबीचको खेल हेर्न २ हजार ८ सय ३५ दर्शक मात्र पुगेको तथ्यांक छ ।

आर्मी र पुलिसको भिडन्त हेर्न आठ सय, मनाङ र मच्छिन्द्रको पहिलो लेगमा १५ सयजना मात्र दर्शक पुगे । एपीएफ र थ्री स्टारबीचको खेलले पाएको ३५ सय दर्शक नै सिजनकै सर्वाधिक उपस्थिति बनेको छ ।

नेपालमा फुटबलको क्रेज छ । राष्ट्रिय टिमको खेल हुँदा मैदानमा दर्शक थामिनसक्नु नै हुन्छन् । मोफसलका गोल्डकपमै पनि दर्शकको भिड सम्हाल्न मुस्किल पर्छ । तर, फुटबलकै मेरुदण्ड मानिने लिगको आकर्षण भने घट्दो छ । समयमै लिग नहुनु र खेल प्रतिस्पर्धात्मक नबन्नुलगायतका कारणले लिग लोकप्रिय बन्न नसकेको हो ।

त्यसो त शीर्ष डिभिजन क्लबले गेट मनीबाटै करोडौं रुपैयाँ कमाउनुपर्ने हो । तर नेपालका क्लब एन्फाले दिने तयारी खर्चकै भरमा निर्भर छन् । प्राय: क्लबहरुले लिग खेलेर घाटा नै हुने गरेको बताउँछन् । त्यही कारण पनि दर्शक आकर्षित गर्ने योजना बनाउन क्लबहरुले आवश्यक ठानेका छैनन् । त्यसैगरी चर्चित खेलाडीलाई अनुबन्ध गरेर दर्शक आकर्षित गर्नसमेत क्बल र एन्फाले ध्यान दिएका छैनन् । एन्फा लिग हुँदैमा दंग पर्ने र क्लबहरु सहभागितामै रमाउने प्रवृत्तिले न दर्शकलाई आकर्षित गर्न सकिन्छ, न त फुटबलको नै हित हुन्छ ।

सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज २-१ ले विजयी


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।