
काठमाडौं । मलेसियाको वायुमास ओभलमा शनिबार एसीसी मेन्स प्रिमियर कपको फाइनल हुँदैछ ।
फाइनलका प्रतिद्वन्द्वी हुन्- नेपाल र यूएई । उपाधि जित्ने टोलीले २०२७ को एकदिवसीय एसिया कपमा स्थान बनाउने छन् । रोचक तथ्य त के हो भने, तीन वर्षअघि टीयू क्रिकेट मैदानमा यूएईलाई नै हराउँदै नेपालले पहिलोपटक एसिया कप खेलेको थियो ।
फेरि त्यही उपलब्धि हासिल गर्न नेपाल कति तयार छ ? अनि स्पिन आक्रमणमा दरिलो साथ पाइरहे पनि ब्याटहरूको कमजोर लयले कस्तो चुनौती छ ?
तीन वर्षपछि- उही लक्ष्य, उही प्रतिष्ठा र उही प्रतिद्वन्द्वी । नेपाली क्रिकेटका लागि यो संयोग र अवसर जुरेको हो- एसीसी मेन्स प्रिमियर कपको फाइनलमा । मलेसियाको वायुमास ओभलमा शनिबार हुने यो खेलले निर्धारण गर्नेछ- एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता क्रिकेटका शक्तिराष्ट्रसँगको भेट ।
उत्कृष्ट स्पिन आक्रमणको बलमा फाइनलसम्मको यात्रा तय गरेको नेपालले सेमिफाइनलमा ओमानविरुद्ध १ सय ४७ रनको लक्ष्य रक्षा गरेको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रक्षा गरेको हालसम्मकै न्यून स्कोर हो ।
ओमानलाई केवल ६० रनमा सीमित गर्दै नेपालले ८७ रनको जित हात पारेको थियो । ओमानविरुद्ध सबै विकेट स्पिनरहरूले नै लिए । प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध बाहेक हरेक खेलमा एकमात्र प्रमुख फास्ट बलर करण केसीसहित मैदान उत्रिएको नेपालको रणनीति मलेसियाको स्लो र टर्निङ कन्डिसनमा प्रभावशाली देखिएको छ ।
कप्तान सन्दीप लामिछाने ५ खेलमा १६ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । ललित राजवंशी ९ विकेटसहित छैटौँ स्थानमा छन् । दीपेन्द्रसिंह ऐरीले ७ तथा करण केसीले ६ विकेट लिएका छन्।
तर ब्याटिङमा भने नेपाल संघर्षरत छ। प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीको सूचीमा कुनै पनि नेपाली ब्याटर छैनन् । नेपालका लागि सर्वाधिक रन बनाएका इशान पाण्डेले ५ खेलमा १ सय ५२ रन जोडेका छन् । उनी सर्वाधिक रनकर्ताको सूचीमा १२औँ स्थानमा छन् ।
यता, सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको यूएईका लागि ब्याटिङ र बलिङ दुवैको महत्त्वपूर्ण योगदान छ। यूएईका लागि अदिब उस्मानीले ५ खेलमा सर्वाधिक १ सय ८२ रन बनाएका छन् भने हैदर अली र आयान खानले समान १०–१० विकेट लिएका छन् ।
टीयू क्रिकेट मैदानमा रिजर्भ डेमा धकेलिएको २०२३ को एसीसी प्रिमियर कपको फाइनलमा दोस्रो दिन नेपालले यूएईलाई १ सय १७ रनमै अलआउट गर्दै ७ विकेटको सानदार जित हात पारेको थियो ।
यो इतिहास दोहोर्याउन नेपालले सबैभन्दा पहिले पावरप्लेमा सम्हालिनुपर्नेछ । बहराइनविरुद्धको खेलबाहेक नेपालले अन्य सबै खेलमा पावरप्लेमै विकेट गुमाएको छ । सुरुवाती ओभरमै विकेट गुम्दा मध्यक्रममा दबाब बढेको छ ।
ब्याटिङमा साझेदारीको अभाव पनि नेपालको अर्को ठूलो कमजोरी बनेको छ । हालसम्म नेपालका लागि केवल दुई खेलाडीले अर्धशतक प्रहार गरेका छन् । कुनै पनि विकेटका लागि शतकीय साझेदारी हुन सकेको छैन भने अर्धशतकीय साझेदारीसमेत केवल पाँचपटक सम्भव भएको छ ।
सेमिफाइनलमा ओमानविरुद्ध वशीर अहमद र दीपेन्द्रसिंह ऐरीबीच पाँचौँ विकेटका लागि भएको ९३ रनको साझेदारी नै नेपाली ब्याटरहरूको सबैभन्दा ठूलो साझेदारी हो । मलेसियाको स्लो र टर्निङ पिचमा भने नेपालको सबैभन्दा ठूलो हतियार स्पिन आक्रमण नै हो ।
अब नेपालले यसैलाई यूएईविरुद्ध निर्णायक हतियार बनाउनुपर्नेछ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएई १९ पटक आमनेसामने हुँदा नेपालले ११ खेल जितेको छ भने यूएईले ८ । यूएईले हालसम्म २ पटक एकदिवसीय र २ पटक टी–२० अन्तर्राष्ट्रिय गरी कुल ४ पटक एसिया कप खेलिसकेको छ ।
नेपाल भने २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाएर दोस्रोपटक उक्त मञ्चमा खेल्ने लक्ष्यसहित मैदान उत्रिँदै छ ।