
जुम्ला । जुम्लामा स्याउ पाक्नुअघि नै बगैँचाबाटै बिक्री गर्नुपर्ने बाध्यता अब हटेको छ ।
किसानले उत्पादनको उचित मूल्य नपाउने र बिचौलियाको प्रभावबाट मुक्त गर्न चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले बगैँचामै पुगेर स्याउ सङ्कलन गरिरहेको छ । यो सहकारीले यस वर्ष करिब तीन लाख किलो स्याउ बजारमा पठाउने लक्ष्य लिएको छ ।
जुम्लाका किसानका लागि स्याउ आम्दानीको प्रमुख स्रोत हो । तर, वर्षभरिको मिहिनेत पाक्नुअघि नै बिक्री गर्नुपर्ने किसानको समस्या हो । बजार सुनिश्चित नहुँदा किसानले आफूले चाहेको मूल्य पाउन पनि सकिरहेका थिएनन् । यही समस्या समाधान गर्ने उद्देश्यले चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले यस वर्षदेखि स्याउको व्यवस्थित बजारीकरण सुरु गरेको छ ।
सहकारीले स्थानीय र फुजी जातका स्याउ खरिद गरिरहेको छ । त्यसका लागि गाउँपालिका, किसान र सहकारीको पहिचान झल्किने ३० हजार कार्टुन तयार गरिएको छ । एउटा कार्टुनमा १० किलो स्याउ प्याक हुन्छ । यसरी यस वर्ष करिब तीन लाख किलो स्याउ देशका विभिन्न बजारमा पठाउने तयारी छ ।
यसअघि सहकारीले मार्सी चामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल तथा पिठोलगायत कर्णालीका रैथाने उत्पादन काठमाडौं, नेपालगञ्ज, सुर्खेत र जुम्लामै बिक्री गर्दैआएको छ । स्याउको गुणस्तर कायम राख्न सहकारीले ग्रेडिङको व्यवस्था पनि गरेको छ ।
स्याउलाई ए, बी र सी ग्रेडमा बाँडिएको छ । सी ग्रेडभन्दा कम गुणस्तरको स्याउ पनि खेर जान दिइनेछैन । त्यस्तो स्याउबाट जुस, जाम, जेली तथा ड्राइ एप्पलजस्ता प्रशोधित वस्तु उत्पादन गरी बजारमा पठाउने योजना छ । किसानलाई प्रोत्साहन गर्न सहकारीले बजारमा चलिरहेको मूल्यभन्दा प्रतिकिलो पाँच रुपैयाँ बढी दिने जनाएको छ ।
गत वर्ष जुम्लाका किसानले बगैँचामै प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्ममा स्याउ बिक्री गरेका थिए । यस वर्ष सहकारीको प्रत्यक्ष बजारीकरणले किसानले अझ राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ । तत्काल बिक्री हुन नसकेको स्याउ कोल्डस्टोरमा राखिनेछ ।
जसका लागि सहकारीले आफ्नै कोल्डस्टोर निर्माण गरिसकेको छ । यसले उत्पादनको समयमा बजारमा हुने चाप र किसानले हतारमा बिक्री गर्ने बाध्यता घटाउने छ । कृषि प्राविधिकले स्याउ पूर्णरूपमा परिपक्व भएको प्रमाणित गरेपछि मात्रै टिप्ने र निर्यातका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
उचित मूल्यमा स्याउ खरिद, गुणस्तरीय ग्रेडिङ, भण्डारण र देशका ठूला बजारसम्म प्रत्यक्ष पहुँचको प्रयास सफल भए किसानको आम्दानी बढ्नुका साथै 'जुम्लाको स्याउ'को पहिचान र गुणस्तरसमेत अझ बलियो बन्ने अपेक्षा गरिएको छ ।
जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीको स्याउको बगैँचा छ । जसको क्षेत्रफल ४ हजार ६ सय ४ दशमलव ५३ हेक्टर हुन्छ । यसपटक २ हजार ३ सय ३८ हेक्टरमा स्याउ फलिरहेको कृषि विकास कार्यालयको तथ्यांक छ । जसबाट १८ देखि २० हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएर किसानले ८० करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ ।