पदकको पर्खाइमा नेपाली ब्याडमिन्टन, नागोयामा इतिहास बदल्ने लक्ष्य

भाद्र २२, २०८३ |अभय बस्नेत
पदकको पर्खाइमा नेपाली ब्याडमिन्टन, नागोयामा इतिहास बदल्ने लक्ष्य

काठमाडौं । पाँच दशकभन्दा लामो एसियाड यात्रा बोकेको नेपाली ब्याडमिन्टन टोली यसपटक जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि तयारीमा छ। 

एसियाली खेलकुदमा ११ पटक सहभागी भए पनि ब्याडमिन्टनमा नेपाल अहिलेसम्म पदकविहीन छ । नागोया एसियाडमा त्यो इतिहास बदल्ने लक्ष्यसहित तयारीमा जुटेको नेपाली टोलीको अवस्था कस्तो छ त ?

सन् १९६६ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदबाट नेपाली ब्याडमिन्टनले एसियाडमा डेब्यू गरेको थियो। त्यसपछि १९७० को बैंकक, १९७४ को तेहरान, १९७८ को बैंकक, १९८२ को भारत र १९८६ को सियोल एसियाडमा नेपाली ब्याडमिन्टन टोली लगातार सहभागी भयो । तर, १९९० को बेइजिङदेखि २००२ को बुसानसम्म चार संस्करणमा भने सहभागी हुन सकेन ।

२००६ को दोहा एसियाडबाट पुनः निरन्तर सहभागी हुँदै आएको नेपाली टोली अब जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदका लागि तयारी गरिरहेको छ। प्रशिक्षक सुदीप कुमार योञ्जनले भने यस प्रतियोगितालाई पदकको आशभन्दा पनि आगामी दक्षिण एसियाली खेलकुद र खेलाडीको स्तरोन्नतिको अवसरको रुपमा लिएका छन् ।

यसपटक नेपालले ब्याडमिन्टनका पाँच विधामा चुनौती प्रस्तुत गर्दैछ। पुरुष एकल र पुरुष डबलमा प्रफुल महर्जन र क्षितिज खनाल प्रतिस्पर्धा गर्नेछन्। महिला एकल र महिला डबलमा रशिला महर्जन र रिहाना शेरचन उत्रिँदा मिश्रित डबलमा प्रफुल–रशिला तथा क्षितिज–रिहानाको जोडीले प्रतिस्पर्धा गर्नेछ। 

टोलीमा सबैभन्दा ठूलो आशामध्ये एक हुन् रशिला महर्जन। तेस्रोपटक एसियाली खेलकुदमा सहभागी हुन लागेकी रशिलासँग एसियाडमा अन्तिम १६ सम्म पुगेको अनुभव छ। अघिल्लो सहभागितामा मंगोलियाकी खेलाडीलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वार्टरफाइनलसम्म पुगेकी रशिला यसपटक अझ राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छिन्।

तर, नागोयामा पदकको सपना पूरा गर्न अनुभव र आत्मविश्वाससँगै बलियो प्रदर्शन आवश्यक छ। पछिल्लो हाङचाउ एसियाडमा पनि नेपाली ब्याडमिन्टन टोली पदकको नजिक पुगेको थियो। पुरुष डबलमा जीवन आचार्य र विष्णु कटुवालको जोडी सिंगापुरसँग पराजित भयो भने नेपाली महिला टोली माल्दिभ्ससँग रोकिएको थियो। 

रशिला बाहेकका बाँकी खेलाडी पहिलो पटक एसियाडमा सहभागी बन्दैछन । पहिलो पटक एसियाडमा प्रतिस्पर्धा गर्न लागेका क्षितिज खनाल एसियाड खेल्न पाउँदा उत्साहित छन् । त्यसैले नागोया नेपालका लागि अर्को अवसर मात्र होइन- एसियाडमा ब्याडमिन्टनको पहिलो पदक जित्ने लामो प्रतीक्षाको अन्त्य गर्ने चुनौती पनि हो। 

५६ वर्षभन्दा लामो एसियाड यात्रामा नेपाली ब्याडमिन्टनले सहभागिताको इतिहास त बनाएको छ। तर, खाँचो छ त केवल पदक को । आइची–नागोया एसियाडमा नेपालको ब्याडमिन्टन टोली त्यही पहिलो पदकको खोजीमा हुनेछ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।