
काठमाडौं । मन्दिरै मन्दिरको सहर काठमाडौं सम्पदाले भरिपूर्ण छ ।
पुरातात्विक तथा साँस्कृतिक सम्पदाले समृद्ध काठमाडौंलाई देशकै साँस्कृतिक सहरको रुपमा स्थापित गर्न काठमाडौं महानगरपालिकाले पछिल्लो चार वर्षमा करिब दुई सयवटा साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गरेको छ भने अहिले करिब एक सय वटा सम्पदाहरुको पुनर्निर्माण गरिरहेको छ ।
पुरानै स्वरुपमा पुनर्निर्माण गरिएका साँस्कृतिक सम्पदाले काठमाडौंलाई स्वदेशी मात्र नभइ विदेशी पर्यटकको समेत गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने महानगरको अपेक्षा छ । काठमाडौंको क्षेत्रपाटीमा रहेका १६औं शताब्दीको ऐतिहासिक इखा पुखुको पुनर्निर्माण गरिएको छ ।
पानी सुकेर मैदान जस्तो अवस्थामा रहेको ऐतिहासिक पोखरीलाई काठमाडौं महानगरपालिकाले परम्परागत शैलीमा पुनर्निर्माण गरेको हो । सात रोपनी क्षेत्रफलमा रहेको पोखरीलाई पैदाल मार्गसहित चारैतिर फल्चासहित सौन्दर्यकरण पनि गरिएको छ ।
इखा पोखरीको पानीले मुख धुँदा आँखामा लागेको रोगसमेत निको हुने जनविश्वास रहेको छ । पोखरी ३ करोड ७० लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । लोपन्मुख इखा पुखु मात्र होइन लोप भैसकेको सिफरचौर नजिककै लिच्छवीकालीन नास: द्यो: मन्दिर पनि पुनर्निर्माण गरिएको छ ।
१९९० सालको भूकम्पले भत्किएर खुला ठाउँको रुपमा परिणत भएको द्यो छेंलाई ९३ वर्षपछि पुनर्निर्माण गरिएको हो । काठमाडौं महानगरपालिकाले पछिल्ला चार वर्षमा ऐतिहासिक एक सय ५२ वटा प्राचीन मठ मन्दिर, पोखरी, फल्चा, ढुङ्गेधाराहरु पुनर्निर्माण गरिसकेको जनाएको छ ।
अहिले पनि ८० वटा भन्दाबढी यस्ता सम्पदा निर्माणाधीन छन् । पुनर्निर्माण सम्पन भएका सम्पदाहरुमध्ये ३५ वटा ढुङ्गेधारा,२५ वटा फल्चा, १५ वटा प्राचीन मन्दिर, २१ वटा गुठि छें देवगृह, २४ वटा बौद्ध बिहारहरु र पोखरीहरु रहेको महानगरपालिकाले जनाएको छ ।
गत वर्षमात्र ८२ वटा मूर्त सम्पदाहरु पुनर्निर्माण भएको छ । मूर्त तथा अमूर्त सम्पदा पुनर्निर्माणमा दुई अर्ब रुपैयाँ भन्दाबढी लगानी भइसकेको महानगरपालिकाले जनाएको छ । लोप भइसकेका र लोपन्मुख अवस्थामा रहेका ऐतिहासिक सम्पदाहरु परम्परागत शैलीमा पुनर्निर्माण भएपछि स्थानीयहरु पनि निकै खुसी छन् ।
प्राचीन मठ मन्दिर पोखरीहरु पुनर्निर्माणले काठमाडौं सहरलाई साँस्कृतिक नगरीको रुपमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षा महानगरको छ ।
अहिले पुनर्निर्माण गरिएका मठ मन्दिर ७२ को भूकम्पभन्दा पहिले नै संरक्षण नपाएर भत्किएकाहरु पनि छन् । त्यसो त पुनर्निर्माण गरिएका एक दर्जन सम्पदा १९९० सालको भूकम्पपछि लगभग लोप भइसकेकाहरु पनि हुन् ।