अन्नपूर्णलाई शीर्षमा पुर्‍याउने मङ्गोलियाली ‘पावर’

भाद्र २६, २०८३ |अभय बस्नेत
अन्नपूर्णलाई शीर्षमा पुर्‍याउने मङ्गोलियाली ‘पावर’

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) ले घरेलु खेलकुदमा बेग्लै उत्साह र रौनकता ल्याएको छ। 

यसै प्रतिस्पर्धामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्सलाई अंक तालिकाको शीर्ष स्थानमा पुर्याउँदै सोझै फाइनलको यात्रा तय गराउन मङ्गोलियाका दुई युवा स्टार-उरानबायार मुङ्खबायार र इन्ख-अर्देन जारगालसोग्तको प्रदर्शन निर्णायक बनेको छ । 

कोर्टभित्र उत्कृष्ट खेल कौशलले नेपाली दर्शकको मन जित्दै घरेलु भलिबलको व्यावसायिकतालाई नयाँ उचाइ दिइरहेका यी मङ्गोलियाका खेलाडीको प्रभाव र योगदानबारे चर्चा गरौं ।

उरानबायार मुङ्खबायार र एन्ख एर्डेन जेर्गाल्सगोट । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुर परिषद्को कभर्ड हलमा भइरहेको पहिलो संस्करणको नेपाल भलिबल लिगमा यी दुई विदेशी खेलाडीको नाम हरेक फ्यानको मुखमा झुन्डिएको छ । अन्नपूर्ण स्पाइकर किङ्ग्सको प्रतिनिधिन्व गर्दै खेलेका ५ मध्ये ३ खेलमा यिनै खेलाडीले म्यान अफ दि म्याच पाएका छन् ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्सलाई अंक तालिकाको शीर्ष स्थानमा पुर्याउँदै सोझै फाइनलको यात्रा तय गराउन मङ्गोलियाका दुई युवा स्टार खेलाडी-उरानबायार मुङ्खबायार र इन्ख-अर्देन जारगालसोग्तको प्रदर्शन निर्णायक र सबैभन्दा प्रभावशाली बनेको छ।

मङ्गोलियाको राष्ट्रिय भलिबल टोलीका यी दुवै खेलाडीको शारीरिक उचाइ ६ फिट ६ इन्च अर्थात् एक सय ९८ सेन्टिमिटर रहेको छ, जसले कोर्टमा विपक्षीका लागि ठूलो चुनौती खडा गरेको छ । २१ वर्षीय उरानबायार मुङ्खबायार मङ्गोलियाको राष्ट्रिय टोलीमा मिडिल ब्लकरका रूपमा दर्ता भए पनि व्यावसायिक क्लब भलिबलमा भने आउटसाइड हिटर र अपोजिटका रूपमा आक्रमण गर्न सिपालु छन् । 

उता २६ वर्षका इन्ख-अर्देन जारगालसोग्त, जसलाई अन्तर्राष्ट्रिय भलिबल जगत्मा (एडी) वा (एडी जारगाचा) भनेर चिनिन्छ, मुख्य रूपमा अपोजिट हिटर हुन् । इन्ख-अर्देन जारगालसोग्तसँग अन्तर्राष्ट्रिय भलिबलको फराकिलो र प्रतिस्पर्धात्मक अनुभव छ ।

उनले कोरियाको भी-लिगमा सामसुङ ब्लुफाङ्ग्स् र केप्को भिक्सटर्म जस्ता शीर्ष क्लबबाट खेलिसकेका छन् भने इराकको मसाफी अलसुमाल र मङ्गोलियाको मिन्जित बुल्गान तथा एसजी हक्सबाट खेल्दै पदक जितिसकेका छन् । अगस्ट २०२६ मा उलानबटारमा सम्पन्न एसियन इस्टर्न जोनल पुरुष भलिबल च्याम्पियनसिपमा चीनलाई ३-१ को सेटले हराउँदै मङ्गोलियालाई कास्य पदक दिलाउनमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको थियो । 

इन्ख-अर्देनको मुख्य विशेषता भनेको उनको उचाइ, पावर र कोर्टभित्रको रणनीतिक परिपक्वता हो । अपोजिट पोजिसनबाट फ्रन्ट रो र ब्याक रो दुवैतर्फबाट प्रहार गर्दै विपक्षी ब्लकलाई रोक्न सक्ने उनको क्षमताले अन्नपूर्ण स्पाइकर किङ्सलाई प्रत्येक खेलमा गति दिएको छ । 

सगरमाथा स्म्यासर्सविरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेपछि आफ्नो ऊर्जाको रहस्यबारे उनले दाल भात पावर २४ आवर भन्दै नेपाली दर्शकमाझ प्रतिक्रिया दिएका थिए । अर्कातर्फ, २१ वर्षका उरानबायार मुङ्खबायार एनभीएल २०२६ का सबैभन्दा आकर्षण बनेका छन् । 

नेपालमा पहिलोपटक खेलिरहेका उरानबायारले लिगका सुरुवाती तीन खेलमै कुल ८४ अंक जोड्दै प्रतिखेल औसत २८ अंकको कीर्तिमान कायम गरे । उनले कर्णाली शिवराजविरुद्ध २९ अंक, काठमाडौं रेड्सविरुद्ध २९ अंक र मधेश वारियर्सविरुद्ध २६ अंक जोड्दै लगातार दुई खेलमा प्लेयर अफ द म्याचको पुरस्कार जितेका थिए । 

प्लेयर अफ द म्याच बनेपछि उनले आफ्नो जितबाट धेरै खुसी भएको र सहयोग गर्ने सबै नेपाली दर्शकलाई धन्यवाद दिँदै प्रशंसकहरूप्रति आभार व्यक्त गरेका थिए। यी दुई मङ्गोलियाली स्टारहरूको उपस्थितिले रमेश केसीको मुख्य प्रशिक्षण र पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र गिरीको सहायक प्रशिक्षणमा रहेको अन्नपूर्ण स्पाइकर किङ्सको टोलीको आक्रमणमा विविधता ल्याएको छ। 

मार्की खेलाडी एवम् मिडिल ब्लकर हिमाल सुनारी, अनुभवी खेलाडीहरू रवि केसी, विश्वास अधिकारी, विवश आले, राजेन्द्र धामी र लिबेरो जितबहादुर सार्की सम्मिलित नेपाली खेलाडीहरूको टोलीसँग मङ्गोलियाली जोडीको तालमेल उत्कृष्ट बनेको छ ।

सुरुआती खेलमा कर्णाली शिवराजसँग १-३ सेटको पराजय भोगे पनि अन्नपूर्णले त्यसपछि काठमाडौं रेड्सलाई ३-०, मधेस वारियर्सलाई ३-१ र खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै सानदार पुनरागमन गर्यो । लिगको अन्तिम खेलमा सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा पछाडि पार्दै अन्नपूर्णले ९ अंकका साथ शीर्ष स्थान हासिल गरी सोझै फाइनलमा प्रवेश गर्यो। 

अन्नपूर्णका मार्की खेलाडी हिमाल सुनारीका अनुसार विदेशी खेलाडीको उच्च रीच र उपस्थितिमा खेल्दा टोलीलाई २५ प्रतिशत अतिरिक्त हौसला र आत्मविश्वास मिल्ने गरेको छ। मङ्गोलियाका उरानबायार र इन्ख-अर्देन जस्ता स्थापित अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले अन्नपूर्ण स्पाइकर किङ्सलाई मात्र सफलता दिलाएको छैन, समग्र नेपाली भलिबलको प्राविधिक र व्यावसायिकस्तरलाई समेत नयाँ उचाइमा पुर्याएको छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।