सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज २-१ ले विजयी

वैशाख २०, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज २-१ ले विजयी

काठमाडौं । सुरुआती अग्रता उल्टाउँदै स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाइटेड राजधानीमा जारी सहिद स्मारक ए डिभजिन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी लिगको दोस्रो स्थानमा उक्लिएको हो । निकै रोमाञ्चक बनेको खेलमा फ्रेन्ड्सले १४औं मिनेटमा अग्रता लिएको पनि अन्तिम तीन मिनेटसम्म सम्हालिएको प्रदर्शन गर्न नसक्दा चर्च ब्वाइजलाई नतिजा सुम्पिएको हो । यससँगै फ्रेन्ड्सले दोस्रो राउन्डमा हारबाट लिगको आरम्भ गरेको छ भने चर्च ब्वाइजले जितबाट सुरु गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेन्ड्सका बेन क्वान्साले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मैदानको दायाँ भागमा प्राप्त फ्रिकिकमा डोना थापाले प्रहार गरेको बललाई क्वान्साले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । वर्षाका कारण हिलाम्मे मैदानमा दुवै टोली बाँकी समय थप गोलका लागि प्रयास गरिरहे । खेलको अन्त्य तिर फ्रेन्ड्सका डिफेन्डरले रन्जितसिंह पाण्डेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि चर्चले पेनाल्टीको अवसर पाएको थियो ।

अन्जन विष्टले पेनाल्टी अवसरलाई सहजै गोलमा परिणत गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन आक्रामक देखिएको फ्रेन्ड्स अगाडि बढेको मौकामा चर्चले इन्जुरी समयमा गोल थप्यो । मौसम सुब्बाले पेनाल्टी बक्स बाहिरबाट उपलब्ध गराएको पासलाई आशिष चापागाईंले फ्रेन्ड्सका दुई डिफेन्डरलाई विट गर्दै टोलीलाई स्पष्ट तीन अंक दिलाउन सफल भएका हुन् ।

यससँगै चर्च ब्वाइजले जारी लिगमा छैटौं जित निकालेको छ । १४ खेलबाट २४ अंक जोडेको चर्च ब्वाइज गोल अन्तरमा शीर्ष स्थानको जावलाखेलभन्दा एक स्थान मुनि रहेको हो । यस्तै पराजित फ्रेन्ड्स जारी लिगमा सातौं हार भोगेको छ । समान १४ खेल खेलेको फ्रेन्ड्स १५ अंकका सात १३औं स्थानमा छ ।

हिमालयन शेर्पा १-० ले विजयी

लिगअन्तर्गत च्यासल मैदानमा बुधबारै भएको अर्को खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले स्तब्ध बनायो । हिमालयनको जितमा खामिर गिल्सनले निर्णायक गोल गरे ।

निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने आक्रामक देखिएको हिमालयन शेर्पाले सातदोबाटोमाथि दबाब दिएर खेलेको थियो । सो क्रममा खेलको ६५औं मिनेटमा गिल्सनले निर्णायक गोल गरेका हुन् । पिस्टन मुटुम्बाको पासमा डिबक्सको ठीक बाहिरबाट गिल्सनले टोलीका लागि अग्रता दिलाएका थिए । सोही अग्रता नै स्पष्ट तीन अंक जोड्न पर्याप्त भएको हो ।

यससँगै जारी लिगमा हिमालयन शेर्पाले चौथो जित निकालेको छ । शेर्पाले १४ खेलमा १७ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । उता अनपेक्षित नतिजा भोगेको सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यससँगै सातदोबाटोले जारी लिगमा चौथो हार भागेको छ । समान १४ खेल खेलेका सातदोबाटोको २२ अंकका सात तालिकाको चौथो स्थानमा छ ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा विभागीय टोली एपीएफ र न्युरोड टिम (एनआरटी) तथा दोस्रो खेल दशरथ रंगशालामा मच्छिन्द्र र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.