.png&w=1000&height=550)
काठमाडौं । रसुवा बाढीपछि बेपत्ता मानिसहरूको खोजी अझै जारी छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उद्धारकर्मीहरूले हिलो, भग्नावशेष, भत्किएका भवन, बगरमा परिणत भएका क्षेत्र तथा टनेलहरूमा जोखिम मोलेर खोजी तथा उद्धार कार्य गरिरहेका छन् । खोजी कार्यमा मानव जनशक्ति मात्रै परिचालन गरिएको छैन।
तालिमप्राप्त खोजी कुकुरहरू पनि परिचालन गरिएका छन् । त्यसमध्येको सशस्त्रको साम्बा नामक कुकुरले त २० वटा शव पत्ता लगाउन सहयोग गरेको छ । कुकुरले कसरी पत्ता लगाउँछन् त शव ।
रसुवा बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बलको के–९ युनिट पनि सक्रिय छ। यो युनिटका तालिमप्राप्त कुकुरहरू बाढी प्रभावित क्षेत्रमा १० गतेदेखि नै परिचालित छन्। यिनैमध्ये एक हो भारतबाट नेपाल ल्याइएको ल्याब्राडोर जातको साम्बा ।
मानव तथा मानव शवको गन्ध पत्ता लगाउन विशेष तालिम दिइएको साम्बाले भग्नावशेष र माटोमुनि मानिस पुरिएको हुन सक्ने स्थान पहिचान गर्छ । भग्नावशेषमुनि के छ भनेर पत्ता लगाउने र उद्धार टोलीलाई संकेत गर्नु उसको काम हो । साम्बाले जमिनमुनि केही भएको गन्ध पाएपछि भुकेर संकेत गर्छ ।
अनि उद्धारकर्मीहरूले त्यहाँ खन्ने काम सुरु गर्छन् । खोजीका क्रममा साम्बासँग मुख्य ह्यान्डलर र सहायक ह्यान्डलर रहने गर्छन् । ह्यान्डलर भनेका उनीहरुलाई समात्ने सुरक्षाकर्मी हुन् । साम्बाले कहिले बिस्तारै हिँड्ने, कुनै निश्चित स्थानमा ध्यान केन्द्रित गर्ने र कहिलेकाहीँ जमिनमा बस्ने, पञ्जाले जमिन कोट्याउँ जस्ता गतिवधि देखाउँछ ।
यी गतिविधि ह्यान्डलरहरूले ध्यानपूर्वक हेरेपछि उद्धार टोलीलाई त्यहाँ खन्न निर्देशन दिन्छन् । त्रिशूली क्षेत्र र रसुवाको टिमुरेमा साम्बाले अहिलेसम्म करिब २० वटा शव पत्ता लगाउन सहयोग गरेको छ । लामो समयदेखि उद्धार कार्यमा खटिएको साम्बाको कामले भग्नावशेषमुनि पुरिएका मानिसको खोजीमा उद्धारकर्मीलाई थप सहयोग पुगेको छ ।
सशस्त्र प्रहरी बलले साम्बासहितका पाँचवटा तालिमप्राप्त कुकुरलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरेको छ । त्यसैगरी, नेपाल प्रहरीका ६ वटा तालिमप्राप्त कुकुरले पनि प्रभावित क्षेत्रमा खोजी तथा उद्धारमा सहयोग गरिरहेका छन् । नेपाली सेनासँग पनि विभिन्न प्रयोजनका लागि तालिमप्राप्त कुकुर छन्।