
काठमाडौं । युरोपेली फुटबल ट्रान्सफर बजारमा एट्लेटिको म्याड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेजकै चर्चा चुलिएको छ ।
एट्लेटिको मड्रिड, बार्सिलोना र आर्सनल बीचको ट्रान्सफर लडाइँमा कसरी अल्भारेज केन्द्रमा परे त ?
जुलियन अल्भारेज र एट्लेटिको म्याड्रिड बीचको सम्बन्ध यसरी बिग्रिएला भनेर कसैले सोचेको थिएन । विवादको सुरुवात सन् २०२६ को विश्वकपको बेला भयो, जब अर्जेन्टिनाले अस्ट्रियालाई पराजित गरेपछि अल्भारेजले बार्सिलोना जानु आफ्नो बाल्यकालको सपना भएको घोषणा गरे ।
उनले एट्लेटिको छोड्नु नै सबैका लागि फाइदाजनक हुने बयान दिएपछि एट्लेटिकोका सीईओ मिगुएल एन्जेल गिल मारिनले यसलाई क्लबको अपमान ठाने र बार्सिलोनासँग कुनै पनि वार्ता नगर्ने निर्णय लिए । तनाव अझ तब बढ्यो जब अगस्ट २३ मा घरेलु मैदानमा भिल्ला रियलविरुद्धको २–२ को बराबरी खेलमा म्याड्रिडका फ्यानहरूले अल्भारेजलाई मैदानमै उनीप्रतिको असन्तुष्टि व्यक्त गरे ।
समर्थकहरूको यो व्यवहारले अल्भारेजलाई मानसिक रूपमा यति विचलित बनायो कि उनले डिप्रेसनको चिकित्सा प्रमाणपत्र बुझाउँदै लगातार दुई अभ्यास सत्रहरू गुमाए । प्रशिक्षक डिएगो सिमिओनीले उनलाई फ्यानहरूबाट जोगाउन खेलपछि मैदान नभइ सिधै चेन्जिङ रुम जाने निर्देशन दिए र अगस्ट २९ को सेभियाविरुद्धको खेलबाट उनलाई टोली बाहिरै राखे ।
अल्भारेज सन् २०३० सम्म एट्लेटिकोको सम्झौतामा छन्, जहाँ उनको रिलिज क्लज ५० करोड युरो तोकिएको छ । बार्सिलोनाले १० करोड युरोको अफर गरे पनि एट्लेटिकोले आफ्नो प्रतिद्वन्द्वीलाई बलियो नबनाउने अडान लियो । तर, स्पेनी सञ्चारमाध्यम एल चिरिन्गिटो टिभीले दाबी गरे अनुसार एट्लेटिकोले अल्भारेजलाई बार्सिलोनासँग कुरा गर्न आन्तरिक रुपमा लिखित सहमति दिएको थियो, जसले बार्सिलोनालाई फिफाको कारबाहीबाट जोगाएको छ ।
यद्यपि एट्लेटिकोले बार्सिलोनाले नियम मिचेर खेलाडी फकाएको भन्दै फिफा र स्पेनी फुटबल संघमा उजुरी समेत दिएको थियो । यसैबीच, इंग्लिस क्लब आर्सनलले अल्भारेजका लागि इंग्लिस फुटबल इतिहासकै सबैन्दा महँगो १२ करोड ८० लाख पाउन्ड प्रस्ताव अघि सार्यो ।
आर्सनलले खेलाडीको परिवारलाई लन्डन ल्याउने र भविष्यमा बार्सिलोना जान पाउने विशेष 'बार्सिलोना क्लब'को विकल्प समेत दियो । तर, आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई आफैं फोन गरेर अल्भारेजले लन्डन जान अस्वीकार गरे । अन्ततः सेप्टेम्बर १ को अन्तिम दिन बार्सिलोनाले आर्सनलबाट १० लाख युरोमा ग्याब्रिएल जेससलाई भित्र्यायो भने एट्लेटिकोले युभेन्टसबाट जोनाथन डेभिडलाई लोनमा ल्यायो ।
म्याड्रिडले पेरिस सेन्ट जर्मेनबाट ली काङ-इन, मोर्टन ह्युलमान्ड र क्रिस्टियन रोमेरोजस्ता खेलाडीहरुलाई भित्र्याएर उत्कृष्ट नतिजा निकाल्न थालेपछि मैदानमा अल्भारेजको अभाव महसुस हुन छाडेको छ । विशेष गरी ली काङ-इनले डेब्यू खेलमै गोल र सेभियाविरुद्ध उत्कृष्ट असिस्ट गरेर फ्यानहरूको मन जितिसकेका छन् ।
अब जुलियन अल्भारेज कम्तीमा जनवरीसम्म म्याड्रिडमै बस्न बाध्य छन् । तर, बार्सिलोनाले यसलाई प्रतिष्ठाको लडाईं बनाउँदै विन्टर विन्डोमा फेरि प्रयास गर्ने स्पष्ट संकेत दिएको छ । अब उनले पुनः म्याड्रिडका समर्थकहरूको विश्वास जित्नु नै एक मात्र विकल्प हो ।