
अर्घाखाँची । वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्कमा सोलारबाट १० मेगावाट बिजुली उत्पादन परियोजना अन्तिम चरणमा पुगेको छ ।
बाह्रै महिना घाम लागिरहने डाँडामा अर्घाभगवती भेन्चर्स प्रालिले सौर्य ऊर्जा परियोजना अघि बढाएको हो । तीन वर्षदेखि दैनिक ७० जना मजदुर र प्राविधिक कर्मचारी यसमा जुटेका छन् । आयोजनाको प्रगतिझन्डै ८५ प्रतिशत छ ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कनजिकै यो २ सय ५० रोपनी भिरालो पाखामा ढप्पकै ढाकिनेगरी १७ हजार वटा सोलर पाता जोडिँदैछ । जसमा सौर्य ऊर्जा प्लान्ट जडान गरी १० मेगावाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।
आगामी असोजमा सक्नेगरी काम भइरहेको छ । नवीकरणीय ऊर्जा उत्पादन विस्तार गर्ने उद्देश्यले आयोजना सञ्चालनमा आएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन र ऊर्जा आत्मनिर्भरताको लक्ष्य हासिल गर्न पनि आयोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
अर्घाभगवती भेन्चर्स प्रालिमार्फत अर्घासौर्य ऊर्जा कम्पनीले १ अर्ब १० करोड लगानीमा परियोजना बनाइरहेको हो । जसमा चारवटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । परियोजना सञ्चानलमा आएपछि २२ जना स्थानीयले नियमित रोजगारी पाउनेछन् ।
जलविद्युतमा केन्द्रित नेपालको ऊर्जा प्रणालीमा पछिल्ला वर्षहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमहरू पनि उल्लेख्य बढेका छन् । सुक्खा याममा नदीको बहाव घट्दा जलविद्युत् उत्पादन कम हुने तथ्यलाई मध्यनजर गर्दै निजी क्षेत्रले सौर्य आयोजनामा लगानी विस्तार गरिरहेको छ ।
यसले विद्युत् आपूर्ति नियमित गर्न मद्दत पुग्ने विश्वास छ । सौर्य ऊर्जामा प्रयोग भएका सामग्री अधिकांश चीनबाट खरिद गरिएको छ । कम्पनीले सेयर खुलाई सकेपछि स्थानियलाई प्राथमिकता दिइने जनाएको छ । अर्घाभगवती भेन्चर्स प्रालिमा अहिले एक सयभन्दा धेरैको पाँच सयदेखि एक सय कित्तासम्म सेयर लगानी रहेको छ ।
कम्पनीले विद्युत् उत्पादन गरिसकेपछि प्रतियुनिट ५ रुपैयाँ ९२ पैसामा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सम्झौता विद्युत् प्राधिकरणसँग गरेको छ ।