मोन्टीको प्रशिक्षणले नेपालको उत्कृष्ट ‘कमब्याक’ (भिडियो रिपोर्ट)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
मोन्टीको प्रशिक्षणले नेपालको उत्कृष्ट ‘कमब्याक’ (भिडियो रिपोर्ट)

काठमाडौं । एक महिनाअघिसम्म नेपालको एकदिवसीय मान्यता नै जोगिन्छ/ जोगिन्न भन्न सकिने अवस्था थिएन । नेपाली क्रिकेटमा मैदानभित्र र बाहिर जताततै समस्या थियो । राष्ट्रिय टिमको प्रदर्शन निराशाजनक थियो । यही समयमा नेपाली टिम सम्हाल्न मोन्टी देसाई आइपुगे । प्रशिक्षक देसाईको आगमनपछि नेपाली टिमले विश्व क्रिकेटमा पुनरागमन गरेको छ । उनकै प्रशिक्षणमा नेपालले एकदिवसीय मान्यतालाई निरन्तरता दिएको छ भने आगामी जुन-जुलाईमा जिम्बाबेमा हुने विश्वकपको ग्लोबल छनोटमा पनि स्थान पक्का भएको छ।

तत्कालीन मुख्य प्रशिक्षक मनोज प्रभाकरले केही खेलाडीसँग वादविवाद र नामिबियामा भएको नेपालको निराशाजनक प्रदर्शनका कारण मंसिर २६ गते पदबाट राजीनामा दिए । उनको नेतृत्वमा लिग टु खेल्न नामिबिया गएको नेपालले एक जित पनि हात पार्न सकेको थिएन । लिग टुमा नेपालले गरेको त्यो सबैभन्दा खराब प्रदर्शन हो । लगातरको खराब प्रदर्शन, क्यानको फ्रेन्चाइज लिगमा विवाद र खेलाडी अनुशासनको विषयमा प्रश्न उठाउँदै प्रभाकरले छाडेपछि नेपाली टिम सम्हाल्न आइपुगे मोन्टी देसाई । २०१३ देखि नेपाली टिमसँग परिचित भएपछि टिम सम्हाल्न उनलाई निकै चु्नौती थियो । यसै विषयमा प्रश्न सोध्दा उनले भनेका थिए, ‘मेरो दिमागमा अहिले मात्रै ह्याप्पी ड्रेसिङ रुम कसरी बनाउने भन्ने मात्रै छ । मेरो प्रशिक्षणको सिद्धान्त नै त्यही हो । म त्यो वातावरण बनाउन चाहन्छु । जहाF दुई वर्षमा हामी हाम्रो यात्रा सम्झिएर गर्व गर्न सकौं ।’

१४ माघमा नेपाल आए पनि श्रम स्वीकृतिका लागि कागजात नमिलेको भन्दै ९ दिनपछि मात्रै उनलाई क्यानले औपचारिक रुपमा सार्वजनकि गरेको थियो । ड्रेसिङ रुममा एकता भए मैदानमा पनि नतिजा आउँछ भन्ने मान्यतासहित मोन्टी अघि बढे । नेपालले लिग टु का तीन सिरिजमा १२ खेल खेल्न बाँकी थियो । फागुन १४ गते टियु मैदानमा नामिबियासँगको खेलमार्फत मोन्टीले आफ्नो यात्रा सुरु गरे । उनको नेतृत्वमा नेपालले १२ मध्ये एघार खेल जित्यो । नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रदर्शन रह्यो । नेपाली खेलाडीको प्रतिभालाई मोन्टीले सही दिशा दिए । सबैभन्दा महत्वपूर्ण कुरा उनले खेलाडीलाई आफ्नो वास्तविक खेल प्रदर्शनका लागि खुल्ला छोडेका थिए । खेलाडीले आफ्नो सट खेलेसँगै नेपालको लिग टुमा उत्कृष्ट कमब्याक भयो ।

विश्वकप छनोट खेल्ने ढोका खुलेपछि, विश्व क्रिकेटका शक्ति राष्ट्रसँग खेल्ने मौकासमेत नेपाली टिमले पाएको छ । नेपालले अब विश्वकप छनोटसँगै एसिया कप छनोट पनि खेल्दैछ । यी सबै खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास सबैमा जागेको छ। 

नेपाली खेलाडीको क्षमता अद्भूत छ : प्रशिक्षक मोन्टी देशाई
ग्लोबल छनोटसम्म नेपालको यात्रा : ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन, ‘क्लिन स्विप’सँगै ऐतिहासिक सफलता
नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित
नेपालको उत्कृष्ट कमब्याक : यूएईविरुद्ध कीर्तिमानी जित, जोगियो ओडीआई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.