
काठमाडौं । जापानको आइची–नागोया एसियाली खेलकुदको २०औँ संस्करणका लागि तयार भइसकेको छ ।
४३ खेलमा एसियाका हजारौँ खेलाडीले प्रतिस्पर्धा गर्दै गर्दा नेपालले पनि २१ खेलमा आफ्नो चुनौती प्रस्तुत गर्दैछ ।
नागोयामा एसियाको खेलकुद महाकुम्भ कसरी सुरु हुँदैछ र नेपालको तयारी तथा सम्भावना कस्तो छ त ?
२०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा नागोयास्थित ३५ हजार क्षमताको पालोमा मिझुहो स्टेडियमबाट हुँदैछ । जापानी निर्देशक युकिहिको सुत्सुमीको निर्देशनमा तयार पारिएको उद्घाटन समारोहको मूल विषयवस्तु "हार्मोनिक हर्ट बिट" अर्थात् 'मधुर हृदयको धड्कन' राखिएको छ ।
जापानी संस्कृति, अत्याधुनिक प्रविधि र महादेशीय एकताको सन्देश बोक्ने यस समारोहले "इमाजिन वान एसिया" अर्थात् 'एउटै एसियाको कल्पना गरौँ' भन्ने नारालाई विश्वसामु प्रस्तुत गर्नेछ ।
यस पटकको ट्रच र्याली आफैँमा ऐतिहासिक रहेको छ । अगस्ट १८ मा टोकियोको ओलम्पिक कल्ड्रन र अगस्ट २० मा हिरोसिमा पिस मेमोरियल पार्कमा बालिएका दुई ट्रर्चहरूलाई नागोया क्यासलमा कनकेव मिररको प्रयोग गरी एउटै ट्रर्चमा परिणत गरिएको थियो ।
यसपटक एक हजार जना ट्रर्च वाहकहरूले आइची प्रिफेक्चरका ४० वटा नगरपालिका र नागोयाका १६ वटै वडा परिक्रमा गराउँदै रंगशालासम्म पुर्याउँदैछन् । उद्घाटन समारोहमा जापानी पप ब्यान्ड 'ईनि' ले प्रस्तुत गर्नेछ । मार्चपासमा एसियाली ओलम्पिक परिषद्का ४५ वटै सदस्य राष्ट्र साथै एसियाड इतिहासमै पहिलो पटक समावेश गरिएको एसियाली शरणार्थी टोलीले भाग लिँदैछन् ।
नागोयाको 'शाचिहोको' बाट प्रेरित मस्कट 'होनहोन' ले उद्घाटन समारोहमा आकर्षण थप्नेछ । करिब ९२ करोड ७० लाख अमेरिकी डलरको लागतमा आयोजना भइरहेको यो महाकुम्भमा १० हजार ८ सयभन्दा बढी खेलाडीहरू उत्रँदैछन् । ४३ खेलका ७१ विधाअन्तर्गत ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
आयोजकले नागोया बन्दरगाहमा राखिएको 'कोस्टा सेरेना' क्रुज जहाजमा ५ हजार र काठका अस्थायी भिल्लाहरूमा २ हजार खेलाडीलाई बसोबासको व्यवस्था मिलाएका छन् । यसै मञ्चमा नेपाली टोलीले पनि आफ्नो उपस्थिति जनाउँदैछ ।
प्रतियोगिताको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झन्डा कबड्डीकी कप्तान मानमती विष्ट र बक्सिङका चन्द्रबहादुर थापामगरले बोक्ने छन् । नेपाली टोलीमा ७८ पुरुष र ५७ महिला गरी १३५ जना खेलाडीहरूले २१ खेल विधामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक, २ प्राविधिक अधिकारी र ६ जनाको मेडिकल टोली सामेल छन् । कान्तिपुर म्याक्सले डिगो डिजिटल पार्टनरसँगको सहकार्यमा यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालभर गर्दैछ । नागोयाको "हार्मोनिक हर्ट बिट" सँगै धड्किरहेको नेपाली खेलकुदको यो यात्रा केवल सहभागितामा सीमित नरहेर, एसियाली मञ्चमा नेपालको गौरवमय उपस्थिति र सम्भावनाको नयाँ ढोका उघार्ने माध्यम बन्ने अपेक्षा छ ।