ग्लोबल छनोटसम्म नेपालको यात्रा : ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन, ‘क्लिन स्विप’सँगै ऐतिहासिक सफलता

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
ग्लोबल छनोटसम्म नेपालको यात्रा : ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन, ‘क्लिन स्विप’सँगै ऐतिहासिक सफलता

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा यूएईविरुद्ध डीएल मेथडमा ९ रनको जितसँगै नेपालले जिम्बाबेमा हुने विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ । नेपालका लागि लिग टूका ९ सिरिज नै रोचक बने । पछिल्ला ३ सिरिजमा ११ जित निकाल्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।

नेपालले विश्वकप छनोटको मुख्य ढोका मानिएको विश्व क्रिकेट लिग टूको यात्रा फेब्रुअरी, २०२० मा कीर्तिपुरस्थित त्रिवि मैदानबाटै सुरु गरेको थियो । नेपाल, ओमान र अमेरिका सम्मिलित पहिलो सिरिजमा नेपालले दुई जित र दुई हारको सामना गरेको थियो । त्यसपछिका दुई सिसिरिजमा समान दुई जित र दुई हारको नतिजा नकालेको नेपालले चौथो सिरिजबाट भने लय गुमाएको थियो । अमेरिका, ओमान, नेपाल सम्मिलित सिरिज खेल्दा नेपाल मात्र १ जितमा चित्त बुझाउन बाध्य बन्यो । स्कटल्यान्डमा भएको सिरिजमा पनि एक जित निकालेको नेपालले नामिबियामा भएको छैटौं सिरिजमा भने जित निकाल्नै सकेन ।

        विश्व क्रिकेट लिग टुमा नेपाली क्रिकेट टोलीको कमब्याक (भिडियो रिपोर्ट)

नेपालका लागि घरेलु मैदानमा भएका पछिल्ला तीन सिरिज महत्त्वपूर्ण रहे । नेपालले नामिबिया र स्कटल्यान्डसँगको सिरिज क्लिन स्विप गर्‍यो । त्यसपछि यूएई भ्रमणमा तीन जित निकालेको थियो । नेपालले अन्तिम सिरिज घरेलु मैदानमा यूएई र पीएनजीविरुद्ध क्लिन स्विप गर्दै लिग टूको शीर्ष तीनमा आफूलाई राख्न सफल भयो ।

यो बीचमा नेपालका लागि चार कप्तान परिवर्तन हुँदा पाँच प्रशिक्षक परिवर्तन भए । पहिलो सिरिज खेलाएर भारतीय प्रशिक्षक उमेश पटुवाल बिदाबारी भए । त्यसपछि डेभ ह्वाटमोरको प्रशिक्षणमा खेलेको नेपालले पुबुदु दाशानायके र मनोज प्रभाकरकोसमेत प्रशिक्षण पायो । तर, मोन्टी देशाईको आगमनपछि भने नेपाली टिममा व्यापक सुधार देखियो । मोन्टीको आगमनसँगै नेपाली ब्याटिङले आशातित सुधार गरेको छ । पछिल्ला ११ खेलमा आसिफ सेखले ४ सय १८ रन बनाएका छन् भने कप्तान रोहित पौडेलले २८५ रन बनाएका छन् ।

अब नेपालले विश्वकप छनोटमा जिम्बाबे, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड तथा सुपर लिगबाट आएका श्रीलंका, दक्षिण अफ्रिका, वेस्टइन्डिज र आयरल्यान्डमध्ये ३ टिमसँग खेल्नेछ । ग्लोबल छनोटमा नामिबियामा हुने प्लेअफबाट छनोट हुने दुई टिम पनि हुनेछन् । प्लेअफमा अमेरिका, नामिबिया, यूएई, पपुवा न्युगिनी, जर्सी र क्यानडा खेल्नेछन् । यदि ग्लोबल छनोटको शीर्ष दुईमा रहन सके नेपालले विश्वकप खेल्नेछ ।

नेपालले लिग टू का ३६ खेलमा ४० अंक जोड्यो । ५० अंक बनाएको स्कटल्यान्ड पहिलो भयो भने ४४ अंकसहित ओमान दोस्रो भयो । नेपाल तेस्रो हुँदा चौथो स्थानमा रहेको नामिबियाले ३९ अंक बनायो । ३५ अंक बनाएको अमेरिका पाँचौं स्थानमा रहँदै ओडीआई मान्यतालाई निरन्तरता दिन सफल भयो । यूएई र पपुवा न्युगिनीको ओडीआई मान्यता जोगाउने बाटो घुमाउरो बन्यो । नामिबियामा हुने प्लेअफको शीर्ष दुईमा नअटाए यूएई र पीएनजीको ओडीआई पूर्णरुपमा खोसिनेछ ।

सम्बन्धित समाचार...

नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित
नेपालको ऐतिहासिक जितमा यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.