काठमाडौं । नेकपा एमालेले पार्टीका युवा र नयाँ नेताहरुलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । रिक्त एक केन्द्रीय उपाध्यक्ष र पार्टीका सात प्रदेश इन्चार्ज मनोनीत गर्दा एमालेले नयाँलाई प्राथमिकता दिएको हो ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानमा गुरु बराललाई मनोनीत गरिएको छ । यसैगरी सातमध्ये पाँच प्रदेशमा नयाँ नेतालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । नयाँलाई जिम्मेवारी दिइरहँदा उल्लेखनीय कुरा के छ भने उपाध्यक्ष र इन्चार्जहरु सबै अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।
पार्टी कार्यालय च्यासलमा बाढी पसेर बैठक बस्नै नसक्ने भएपछि सिंहदरबारनजिकै होटेल बसेरामा बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको हो । झापाका बराल लामो समयदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीनिकट रहेर काम गर्दै आउनुभएको छ । बराललाई अध्यक्ष ओलीले यसअघि राष्ट्रपतिको उम्मेदवार बनाउन खोज्नुभएको थियो ।
सचिवालय बैठकले पार्टीका सातै प्रदेश इन्जार्जको जिम्मेवारीसमेत तोकेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाहेक पाँच प्रदेशको इन्चार्जमा नयाँलाई अवसर दिइएको छ । लुम्बिनीमा पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्टलाई दोहोर्याइएको छ । अन्य पाँच प्रदेशमा भने अध्यक्ष ओलीले नयाँ नेताहरुलाई अघि सार्नुभएको हो ।
कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र बागमतीमा राजन भट्टराईलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसैगरी गण्डकीमा किरण गुरुङ र कर्णालीमा गोरख बोगटीलाई जिम्मेवारी दिइएको छ । बिहीबार मात्रै स्थायी समिति सदस्यमा बढुवा हुनुभएका लीलानाथ श्रेष्ठले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी पाउनुभएको हो ।
एमालेले पार्टीका पुराना नेता मुकुन्द न्यौपानेलाई पनि स्थायी समिति सदस्यमा मनोनीत गरेको छ । सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । संसदीय दलका मुख्य सचेतकसमेत रहेका महेश बर्तौलादेखि चितवनका कृष्णभक्त पोखरेलसम्म केन्द्रीय सदस्य बन्नुभएको हो । अरु पार्टीबाट आएका जितेन्द्रनाराण देव, सुवास कर्माचार्य र कुन्दन कुसवाहसमेत एमाले केन्द्रीय सदस्य बन्नुभएको छ ।
सचिवालय बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यहरु सबैको कार्यविभाजन गरेको छ । एमालेले ७७ जिल्ला इन्चार्ज र ३२ विभागका प्रमुखहरुसमेत तोकेको छ । प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतम र संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारीलाई नै दोहोर्याइएको छ ।
पार्टी कार्यालयमा बाढी, होटेलमा सचिवालय बैठक
सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज पार्टी कार्यालयमा नबसेर काठमाडौंको बसेरा होटेलमा बस्यो । ललितपुरको च्यासलनजिकै मनोहरा खोला किनारमा रहेको तुलसीलाल अमात्य स्मृति भवनमा रहेको पार्टी कार्यालयमा बुधबार बिहान बाढी पसेकाले सचिवालय बैठक हुन नसकेको हो ।
मौसममा सुधार आएसँगै पार्टी परिसरमा रहेको पानी सुकेको छ भने हिलोसमेत फ्याँकेर अहिले सरसफाइको काम भइरहेको छ । तर पूर्ण रुपमा सफाइ हुन नसकेपछि आजका लागि तय पार्टी सचिवालयको बैठक काठमाडौंको सिंहदरबार नजिकको एक होटेलमा बस्नुपरेको हो ।
खोला छेवैमा रहेको एमाले पार्टीको केन्द्रीय कार्यालय डुबानमा परेकामा पार्टीका सदस्यहरुसमेत खिन्न छन् ।
डुबानमा परेको पार्टी कार्यालय हेर्न आएका सदस्यहरुले हरेक वर्षामा डुबानमा पर्ने पार्टी कार्यालयको दीर्घकालीन समाधानका लागि पार्टी नेतृत्वले सोच्नुपर्ने बताएका छन् ।