एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज [नामसहित]

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज [नामसहित]

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज तोकेको छ ।

काठमाडौंको सिंहदरबारनजिकै होटेल बसेरामा बसेको सचिवालय बैठकले पदाधिकारी तथा केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

जसअनुसार एमालेले कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जका रुपमा जिम्मेवारी दिएको छ । यस्तै एमालेले गुरु बराललाई उपाध्यक्ष बनाएको छ भने स्थायी समिति सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई नियुक्त गरेको छ । 

बैठकले केही केन्द्रीय सदस्यहरु पनि मनोनीत गरेको छ । जसमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाहा, जितेन्द्र देव (सुनसरी), रामप्रित राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ), आशा जवेगू (पाँचथर) रहेका छन् ।

पार्टी कार्यालयमा बाढी, होटेलमा सचिवालय बैठक

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज पार्टी कार्यालयमा नबसेर काठमाडौंको बसेरा होटेलमा बस्यो । ललितपुरको च्यासलनजिकै मनोहरा खोला किनारमा रहेको तुलसीलाल अमात्य स्मृति भवनमा रहेको पार्टी कार्यालयमा बुधबार बिहान बाढी पसेकाले सचिवालय बैठक हुन नसकेको हो ।

मौसममा सुधार आएसँगै पार्टी परिसरमा रहेको पानी सुकेको छ भने हिलोसमेत फ्याँकेर अहिले सरसफाइको काम भइरहेको छ । तर पूर्ण रुपमा सफाइ हुन नसकेपछि आजका लागि तय पार्टी सचिवालयको बैठक काठमाडौंको सिंहदरबार नजिकको एक होटेलमा बस्नुपरेको हो ।

खोला छेवैमा रहेको एमाले पार्टीको केन्द्रीय कार्यालय डुबानमा परेकामा पार्टीका सदस्यहरुसमेत खिन्न छन् ।

डुबानमा परेको पार्टी कार्यालय हेर्न आएका सदस्यहरुले हरेक वर्षामा डुबानमा पर्ने पार्टी कार्यालयको दीर्घकालीन समाधानका लागि पार्टी नेतृत्वले सोच्नुपर्ने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.