मुख्यमन्त्री सोडारीको काम : राजीनामा दिनुको साटो मन्त्रीमण्डल हेरफेर, बजेट शून्यताले संकटमा प्रदेश

श्रावण १०, २०८१ |टेकराज जोशी
मुख्यमन्त्री सोडारीको काम : राजीनामा दिनुको साटो मन्त्रीमण्डल हेरफेर, बजेट शून्यताले संकटमा प्रदेश

धनगढी । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुको साटो अल्पमतमा पर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (बिहीबार) पुन: मन्त्रीमण्डल हेरफेर गर्नुभएको छ ।

नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि रिक्त रहेको ती मन्त्रालयमा एकीकृत समाजवादी र नेकपा माओवादीका प्रदेश सभा सदस्यलाई जिम्मेवारी दिनुभएको छ । एकीकृत माओवादीका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने नेकपा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रीमा कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापा, सामाजिक विकासमन्त्री ओमविक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया पन्तलाई बनाइएको छ । यसअघि भागबन्डा मिलाउन मुख्यमन्त्री सोडारीले सातवटा मन्त्रालय टुक्रयाएर १० वटा बनाउनुभएको थियो । अहिले पुन: मन्त्रिपरिषद्‌बाट निर्णय गर्दै त्यसलाई घटाएर सातवटा कायम गर्नुभएको छ ।

वैशाख २० गते एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको छ । प्रदेशमा अहिलेसम्म बजेट पारित नहुँदा बजेट शून्यताको अवस्था छ । सरकारको खर्च आम्दानी पनि ठप्प छ । मुख्यमन्त्री सोडारीले बजेट अधिवेशन अन्त्य गरे पछि कांग्रेस-एमालेको आग्रहमा प्रदेश प्रमुखले प्रदेश सभाको विशेष बैठक पनि आह्वान गरिसक्नुभएको छ । तर मुख्यमन्त्री सोडारी उक्त बैठकमा पनि सहभागी नभएपछि सभा पुन: अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । कांग्रेसका १८ र एमालेका ११ सदस्य भएकाले सहजै सरकार बन्ने अवस्थामा छ ।

कांग्रेस-एमालेले लिखित रूपमै राजीनामा दिन पटक-पटक आग्रह गरे पनि मुख्यमन्त्री सोडारीले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने भन्दै अहिले नै राजीनामा नदिने अडान राख्नुभएको छ । खासगरी एमालेका आर्थिक मामिलामन्त्रीले बजेट ल्याएर पास नगरी सरकार छाडेपछि सोडारी रुष्ट हुनुभएको छ । मुख्यमन्त्री सोडारी र एमालेको इगोका कारण प्रदेशमा बजेट शून्यताको अवस्थाले भने आर्थिक संकट चुलिँदै गएको छ ।

यो पनि...

कांग्रेसका कारण कोशी प्रदेश सरकार पुनर्गठनमा अलमल


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement