बाँकेमा बिरामीको उपचारमा लापरबाही हुँदा ६ जनाको मृत्यु

भाद्र २२, २०८१ |जे पाण्डे
बाँकेमा बिरामीको उपचारमा लापरबाही हुँदा ६ जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुर र नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा झाडापखालासँगै उच्च ज्वरोका कारण दुई सातायता ६ जनाको मृत्यु भैसकेको छ । उनीहरु सबैले रोग पहिचानसँगै उपचार गर्नसमेत नजान्ने औषधि बिक्रेतासँग उपचार गराउँदा ज्यान गुमाउनु परेको स्वास्थ्य कार्यालयले जनाएको छ । तर पनि नियामक निकायले त्यसरी उपचार गराउनेमाथि कारबाही र निगरानी नगर्दा ग्रामीण क्षेत्रका नागरिकको ज्यान जोखिम पर्ने खतरा टरेको छैन ।

बाँकेको सिमावर्ती नरैनापुर गाउापालिकाको गेग्लीमा यही भदौ ११ गते बिहान ११ बजे झाडापखालाका बिरामी देखा परेकामा तीन दिनमै ४ जनाको मृत्यु भयो । लगत्तै १८ भदौमा नरैनापुरकै अर्की एक महिलामा झाडाबान्ताको लक्षण देखियो । आफन्तले स्थानीय औषधि पसलमा लगेर उपचार गराए पनि निको भएन । अवस्था चिन्ताजनक भएपछि मात्रै उनलाई नेपालगन्ज मेडिकल कलेजमा त पुर्‍याइयो, तर चिकित्सकले बचाउन सकेनन् ।

यस्तै १९ भदौमा नेपालगन्जसँगै जोडिएको जानकी गाउँपालिका ५ बेलहरीमा झाडापखालाबाटै ३४ वर्षीया होली तेलीको मृत्यु भयो । नरैनापुर र जानकी गाउँपालिकाका यी घटनामा दक्ष स्वास्थ्यकर्मीसँग उपचार नगराउँदा बिरामीको ज्यान गएको पाइएको छ । यस्ता घटनाले चिकित्सा क्षेत्रप्रति नै अविश्वास पैदा हुन थालेको भन्दै चिकित्सकहरुले यस्ता बिक्रेतालाई कारबाहीको दायरालाई ल्याउन नियामक निकायलाई आग्रह गरेका छन् ।

झाडापखाला प्रभावित क्षेत्रका बिरामी र उनीहरुका आफन्तले पिउने पानी परीक्षण गर्दा पानी प्रदुषित नपाइएको, हैजाको जीवाणु फेला नपरेको र खानामा पनि कुनै किटाणु फेला परेका छैनन् । तर, बेलैमा उपचार गर्न अस्पताल वा दक्ष चिकित्सककामा नपुग्दा बिरामी सिकिस्त हुने गरेको पाइएको छ ।

ग्रामीण क्षेत्रका औषधि पसलेहरुले विनाअनुमति बिरामीको परीक्षण र जथाभावी औषधि बिक्री गर्दा बिरामीको ज्यानै जानेसम्मका घटना हुने गरेका छन् । यस्ता औषधि पसलको नियमन र निगरानी गर्दै जतिसक्दो कारबाहीको दायरामा ल्याउनुपर्ने देखिएको छ । 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement