कांग्रेसका कारण कोशी प्रदेश सरकार पुनर्गठनमा अलमल

श्रावण १०, २०८१ |महाप्रसाद खतिवडा|सुशीला पाठक
कांग्रेसका कारण कोशी प्रदेश सरकार पुनर्गठनमा अलमल

विराटनगर । केन्द्रीय सत्ता राजनीतिमा फेरबदल भएको तीन साता बिते पनि कोशी प्रदेशमा पुरानै गठबन्धनको सरकार कायम छ । नेपाली कांग्रेसले सरकारमा जाने प्रदेश सभा सदस्यहरूको नाम नदिँदा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको हो ।

असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सम्झौताअनुसार संघीय, बागमती, लुम्बिनी र मधेश प्रदेश सरकार फेरिइसकेका छन् । तर सम्झौता भएको तीन साता बितिसक्दा पनि कोशी प्रदेशमा भने पुरानै समीकरणको सरकार कायम छ । गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका अधिकांश प्रदेश सभा सदस्य मन्त्रीका आकांक्षी छन् ।

आकांक्षी धेरै र गुट व्यवस्थापन पनि गर्नुपर्ने भएकाले कांग्रेसले सरकारमा जाने प्रदेश सभा सदस्यको नाम टुंग्याउन नसकेको हो । कांग्रेसले सरकारमा जाने प्रदेश सभा सदस्यहरूको नाम नदिँदा मन्त्रिपरिषद् पुनर्गठनको मिति धकेलिँदै गएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ छ ।

आन्तरिक छलफल नटुंगिएको भन्दै कांग्रेस सचेतक शोभा चम्जोङले केही दिनमै सरकारमा सहभागी प्रदेश सभा सदस्यहरूको नाम मुख्यमन्त्रीलाई दिने जनाउनुभयो ।

राजनीतिक अस्थिरताकै कारण सेवाप्रवाह प्रभावकारी नहुँदा कोशी प्रदेशका आमनागरिक निराश छन् । कोशी प्रदेश सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न त सकेको छैन नै राजस्व पनि लक्ष्यअनुसार संकलन गर्न सकेको छैन् ।

यस्तो अवस्थामा प्रमुख दुई ठूला दल मिलेर सरकार सञ्चालन गर्ने सन्देशले आमनागरिकमा आशाको सञ्चार गराएको छ । तर सरकार निर्माणमा दलहरूले देखाएको ढिलासुस्तीले नागरिकमा फेरि आशंका जन्माएको छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement