पार्टीभित्र भूमिका खोज्दै एमालेबाट बाहिरिएका नेता

भाद्र २१, २०८१ |अवतार राई
पार्टीभित्र भूमिका खोज्दै एमालेबाट बाहिरिएका नेता

काठमाडौं । हरेक पार्टीमा पुस्तान्तरणको बहस चलिरहेको छ । नेताहरुलाई नेतृत्व छाड्न निरन्तर दबाब छ । तर, पार्टी विभाजन र आफ्नै कारणले बाहिरिएका नेताहरु भने आफ्नो भूमिका खोज्दै पुनः नेतृत्वमा पुग्न लालायित भइरहेका छन् । यसले नेताहरु युवा पुस्ताका लागि ठाउँ छाड्नभन्दा सधैं सत्ता र शक्तिकै केन्द्रमा रहिरहन चाहन्छन् भन्ने देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी-नेकपा विभाजन भएर नेकपा एमाले र माओवादी केन्द्रको पूरानै स्थितिमा पुगेपछि असन्तुष्ट नेता बामदेव गौतम अहिले गुमनामजस्तै हुनुहुन्छ । 

उहाँलाई एमालेमै फर्कन मन छ । गत वर्ष जेठमा पार्टीले ७० वर्षे उमेर हद हटाएपछि मूल घरमै भित्रिने आशा उहाँमा थियो । सार्वजनिक रुपमै एमालेमा फर्कन चाहेका गौतमलाई पुनः भित्र्याउने रुचि एमालेले भने देखाएको छैन ।

एमालेमा जान नपाएपछि नीति तथा कार्यक्रम स्पष्ट बनेमा र निर्णायक हैसियतको पद पाए एकीकृत समाजवादीमा जाने चाहना गौतमको छ । त्यो पनि टुंगो भने लागेको छैन । गौतम जस्तै एमालेबाट किनारा लगाइएका नेता भीम रावलसमेत अबको बाटोबारे अलमलमा हुनुहुन्छ । 

नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ उपाध्यक्षमा निर्वाचित रावलको अहिलेको हैसियत पार्टीको साधारण सदस्य मात्र हो । १० औं महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेयता रावललाई एमालेले धकेलिरहेको छ । 

नेकपा विभाजन हुँदा एमालेमै बसेर ६ महिना खानेपानी मन्त्री हुने अवसर पाएका माओवादी पृष्टभूमिका नेताा मणि थापा पनि राजनीतिक रुपमा दोबाटोमा हुनुहुन्छ । नेतृत्वको आचरण र शैलीको विरोध जनाउदै एमालेमा निष्क्रिय बसेपछि पार्टीले उहाँलाई स्थायी कमिटी सदस्यबाट हटायो ।

अहिले फेरि सक्रिय राजनीति गर्ने चाहना राखेका थापा पुरानै पार्टी माओवादीमा प्रवेश गर्ने मनसायमा देखिनुहुन्छ । तर माओवादी नेतृत्वले चासो दिएको छैन । एमाले, माओवादीमा मात्र होइन, अरु दलमा समेत आफ्नै कारण र आपसी द्वन्द्वका कारण पार्टीबाट बाहिरिएका केही नेताहरु पुनः पदीय जिम्मेवारीका साथ फिर्ता हुन चाहिरहेका छन् ।

त्यस्तो चाहाना खाइपाइ आएको राजनीतिक बिरासत गुम्दाको छटपटी जस्तो पनि देखिन्छ । यसले नेताहरु सधै शक्तिमै रहन चाहन्छन र पुस्तान्तरणका लागि ठाउँ खाली गर्न तयार छैनन् भन्ने पुष्टि हुन्छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement