पेरिस पारा ओलम्पिकमा चीनको अग्रता कायमै

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस पारा ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाडौं । पेरिस पारालिम्पिक्समा आज ११ औं दिनका खेल भइरहँदा चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ । भोलि राति समापन हुने १६ औं संस्करणको पारालिपिम्क्समा आज १३ खेलका प्रतियोगिता भइरहेका छन् ।

एसियाली देश चीनले आजका खेलहरु चलिरहँदा ८६ स्वर्ण, ६५ रजत र ४५ कांस्य पदकसहित कुल एक सय ९६ पदक जितेको छ । जारी पारालिम्पिक्समा ग्रेट व्रिटेनले उत्कृष्ट प्रदर्शन गरेर एक सय ८ पदक आफ्नो नाममा गरिसकेको छ । उसले ४५ स्वर्ण, ३७ रजत र २६ कांस्य जितेको छ ।

यसैगरी, तेस्रो स्थानमा कायमै रहेको अमेरिकाले ३२ स्वर्णसहित कुल ९२ पदक हात पारेको छ । अमेरिकाले ३८ रजत र २२ कास्य पदकमा कब्जा जमाएको छ । प्रतियोगिताका अन्तिम तीन दिनका खेलबाट कमब्याक गरेको नेदरल्यान्ड्स अहिले कुल ५१ पदकसहित तालिकाको चौथो स्थानमा छ । उसका खेलाडीले २६ स्वर्ण, १४ रजत र ११ कांस्य जितेका छन् ।

आयोजक फ्रान्सले भने शीर्ष पाँचभित्र पनि स्थान बनाउन सकेको छैन । उ इटाली र ब्राजिलभन्दा पछि छ । पाँचौं स्थानको इटालीले २० स्वर्णसहित ६५ पदक जितेको छ भने ब्राजिलले १९ स्वर्णसहित ७७ पदक आफ्नो नाममा गरेको छ । फ्रान्सले १८ स्वर्ण, २५ रजत र २७ कांस्यसहित ७० पदक जितेको छ ।

युक्रेन, अष्ट्रेलिया र जापान क्रमिकरुपमा शीर्ष १० भित्र रहेका छन् । अहिलेसम्म सहभागी एक सय ६८ देशमध्ये ५९ देशले कम्तीमा १ स्वर्ण जितेका छन् भने ८३ देशले पदकको खाता खोलेका छन् । नेपालसहित सात देशले एक कांस्य पदक जितेका छन् । एथ्लेटिक्स, क्यानोइ, भारोत्तोलन र बास्केटबलबाहेक आज सबै खेल सकिने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement