चुनाव ‘८४’ भन्दा अगाडि नै हुने त होइन ?

होइन भने- अहिले नै ठूला दलहरू निर्वाचनमा कसरी जाने भन्ने निर्णय किन गरिरहेका छन् ?
भाद्र २०, २०८१ |प्रकाश बम
चुनाव ‘८४’ भन्दा अगाडि नै हुने त होइन ?

काठमाडौं । आम निर्वाचन हुन अझै तीन वर्ष बाँकी छ । तर अघिल्लो निर्वाचनको परिणामअनुसार काम गर्नुपर्ने प्रमुख दलहरू अहिले निर्वाचन सम्बन्धमा धमाधम पार्टीगत निर्णय गरिरहेका छन् । यसअघिका दुई वटा निर्वाचनमा छुट्टाछुट्टै गठबन्धन बनाएर लडेका ठूला दलले आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्दै औपचारिक निर्णय नै गरेका छन् । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेकाले उनीहरूले आपसमा अविश्वास नबढोस् भनेर नै यो निर्णय गरेका हुन् या विपक्षीलाई गलाउने रणनीति मात्र हो ?

निर्वाचन आउन तीन वर्ष बाँकी छ तर अहिले नै ठूला दलहरू निर्वाचनमा कसरी जाने भन्ने निर्णय किन गरिरहेका छन् ? यो प्रश्नको जवाफ खोज्दै जाँदा कतै देशमा समय अगावै निर्वाचन त हुँदै छैन प्रश्न पनि तेर्सिएको छ । तर जवाफ भने सजिलै पाइँदैन ।

२०७९ सालमा पाँच दलको गठबन्धन बनाएर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाटै आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने औपचारिक निर्णय गर्‍यो । अबका निर्वाचनमा कार्यकर्ताले पार्टीको चुनाव चिह्नबाहिर भोट हाल्न नपर्ने गरी संगठन विस्तार गर्ने निर्णय पनि कांग्रेसले गर्‍यो ।

कांग्रेसले निर्णय गरेको भोलिपल्टै सुरु भएको नेकपा एमालेको पोलिटब्युरो बैठकले कांग्रेसको निर्णयलाई स्वागत मात्र गरेन आफू पनि गठबन्धन नगरी चुनावी प्रतिस्पर्धामा उत्रने निर्णय गर्‍यो । त्यति मात्र नभएर एमाले तीन वर्षपछि अर्थात् २०८४ सालमा हुने आमनिर्वाचनका लागि अहिलेदेखि नै संगठन सुदृढीकरण अभियान थाल्न नेता तथा कार्यकर्तालाई निर्देशन दियो ।

सत्ता सहकार्य गरिरहेका दुई ठूला दलले तीन वर्षपछि हुने चुनावका विषयमा अहिले नै किन औपचारिक निर्णय गरिरहेका छन् भन्ने विश्लेषण भइरहेको छ । यसअघि गठबन्धन बनाएर चुनावमा गएका र साना दलबाट पटकपटक धोका पाएको बुझाइ कांग्रेस र एमालेको छ । 

२०७४ सालमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो भने २०७९ सालमा कांग्रेसले माओवादीसँग गठबन्धन बनाएर चुनावमा होमिएको थियो । साना दलको वैशाखी टेकेर चुनावमा जाँदा जनमतको सही परीक्षण हुन नपाएको बुझाइ यी दलको छ । तर विश्लेषकहरू भने सत्ता सहकार्य गरिरहेका दलहरुबीच एक अर्कामा विश्वास कायम राख्न हतारमा यो निर्णय गरेको हुनसक्ने बताउँछन् ।

पछिल्ला केही वर्षयता सत्तामा साना दलको हालीमुहाली थियो । जनमत प्राप्त ठूला दल कि सानाको वैशाखी बन्नुपर्ने कि प्रतिपक्षमा बस्नुपर्ने अवस्था थियो । राष्ट्रिय पार्टीसम्म बन्न नसकेकाहरुको सत्तामा हालीमुहाली हुँदा ठूला दल आजित मात्र भएनन् जनताको भावनाअनुसार सरकारले काम गर्न नसक्दा निराशा छाउन थालेको थियो । अहिले जनताको भावना बुझेर कांग्रेस र एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्न खोजेको हुनसक्ने बुझाइ पनि कतिपयको छ ।

त्यसो त राजनीतिक दलहरुले छेपाराले रंग फेरे जस्तै आफ्नो निर्णय उल्ट्याउने गरेको इतिहास नभएको होइन । तर संविधान जारी भएपछि उनीहरूले गरेको चुनावी गठबन्धनबाट धोका पाएको महसुस गरेर अहिले यो निर्णय गरेका हुन् र यसमा अडिग रहन सक्छन् भने त्यसले भोलि राम्रो परिणाम पनि दिन सक्छ । तर तीन वर्षपछिको भविष्यवाणी अहिले नै गरिहाल्न सकिँदैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement