अन्तर्राष्ट्रिय फुटबलका कस्ता-कस्ता विवादमा परे लुइस स्वारेज ?

भाद्र २२, २०८१ |खेल ब्युरो
अन्तर्राष्ट्रिय फुटबलका कस्ता-कस्ता विवादमा परे लुइस स्वारेज ?

काठमाडौं । फिफा विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा शुक्रबार राति पाराग्वेले उरुग्वेलाई गोलरहित बराबरीमा रोक्यो । यससँगै स्टार स्ट्राइकर लुइस स्वारेजले आफ्नो १७ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य गरे । अन्तिम खेलमा अपेक्षित नतिजा हात पार्न नसके पनि समर्थकहरुले उरुग्वेका स्ट्राइकर स्वारेजलाई ससम्मान बिदाइ गरे । उरुग्वेका लागि सर्वाधिक गोलकर्ता स्वारेजको अन्तर्राष्ट्रिय करियर सफल रहे पनि बेला बेलामा भने विवादित भइरहे ।

सेन्टेनारियो स्टेडियममा किकअफ अघि फ्यानहरूले "लुइस इटरनल" लेखिएको विशाल ब्यानर प्रदर्शन गरे । खेल अवधिभर लेजेन्डी स्वारेज भन्दै नारा लगाए । खेलको अन्तिम सिठी बज्दासम्म पाराग्वे र उरुग्वेबाट कुनै गोल हुन नसकेपछि सुआरेजको अन्तर्राष्ट्रिय विदाईमा उनका समर्थक केही निराश देखिए । अन्तर्राष्ट्रिय करियर समाप्त गर्दा सुआरेज पनि भावुक बनेका थिए । उनको बिदाइमा उरुग्वेका पूर्वमुख्य प्रशिक्षक ओस्कार तबरेज, पूर्वकप्तान डिएगो लुगानो, डिएगो फोर्लान र डिएगो गोडिन सामेल थिए । समारोहमा सुआरेको परिवार पनि उपस्थित थियो ।

लियोनल मेसी र नेयमार लगायत सुआरेजको करियरका प्रमुख सहकर्मीले पठाएको बिदाइ तथा शुभकामना सन्देश स्टेडियमको स्क्रिनमा बज्यो । ३७ वर्षीय सुआरेजले सेप्टेम्बर २ मा यस खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने बताएका थिए । उरुग्वेका लागि सर्वाधिक गोलकर्ता स्वारेजको अन्तर्राष्ट्रिय करियर सफल रहे पनि बेला-बेलामा विवादित भने भइ नै रहे । त्यसैले उनलाई विवादका राज भनेर पनि चिनिन्छ ।

सन् २०१० को विश्वकपको क्वार्टरफाइनलमा घाना र उरुग्वे प्रतिस्पर्धा गर्दै थिए । खेलको अन्तिम क्षणमा स्वारेजले गोल लाइनमा गएर विपक्षीको प्रहारलाई हातले रोकेका थिए । सोही कारण घाना विजयी गोल गर्नबाट चुक्यो । दुबै टिमका खेलाडीबीच विवाद चुलियो । सुआरेजलाई रातो कार्ड देखाइयो र मैदान बाहिर पठाइयो । घानाका असामोआले पेनाल्टी मिस गरे र उरुग्वे पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो ।

लिभरपुल र बार्सिलोनाका पूर्वस्टार सुआरेजले २०१४ फिफा विश्वकपमा, इटालीका जर्जियो चिलिनीलाई खेलको क्रममा टोके । फिफाले उनलाई कडा कारबाही गर्दै ६ महिनाको प्रतिबन्ध नै लगायो । त्यस क्रममा उनलाई कुनै पनि फुटबल कार्यक्रममा भाग लिन, अभ्यास गर्न वा स्टेडियममा प्रवेश गर्न पनि बन्देज थियो ।

यो विवादपछि उनी इंग्लिस प्रिमियर क्लब लिभरपुलबाट स्पेनिस टोली बार्सिलोना आएका थिए । यो स्थानान्तरणका लागि उनले ७५ मिलियन पाउन्ड पाउने थिए तर घटनापछि उनलाई ६५ मिलियन पाउन्ड दिइयो । २१ अप्रिल २०१३ मा, लिभरपुलबाट खेल्ने क्रममा उनले चेल्सीका ब्रानिस्लाभ इभानोभिचको हातमा टोकेका थिए । उनीमाथि १० खेलको प्रतिबन्ध लगाइएको थियो ।

स्वारेजले आफ्नो देशका लागि १ सय ४३ खेलमा ६९ गोल गरेका छन् । उनी उरुग्वेका सर्वाधिक गोलकर्तासमेत हुन् । हाल अमेरिकी क्लब इन्टर मायामीमा बार्सिलोनाका पूर्वसहकर्मी मेस्सीसँगै व्यावसायिक फुटबल खेलिरहेका स्वारेजले मायामीबाटै क्लब फुटबल अन्त्य गर्ने घोषणा गरिसकेका छन् ।



Enter Kantipur TV HD
Advertisement