ईपीएल : टोटेनहममाथि एस्टन भिल्लाकाे जित

कार्तिक २, २०८२ |खेल ब्युरो
ईपीएल : टोटेनहममाथि एस्टन भिल्लाकाे जित

काठमाडौं । ईपीएलअन्तर्गत भर्खरै सम्पन्न खेलमा टोटेनहम हट्सपर एस्टन भिल्लासँग २-१ गोलको हार ब्यहोरेको छ। 

एक गोलको अग्रता जोगाउन नसक्दा टोटेनहले लिगमा दोस्रो हार ब्यहोरेको हो। टोटेनहम रंगशालामा घरेलु टिमले उत्कृष्ट सुरूआत गरेर पहिले अग्रता बनाएका थियो। खेलको पाँचौ मिनेटमा नै रोड्रिगो बेन्टाकुरले घरेलु टिमलाई अग्रता दिलाए। 

उनले जोआ पालिन्हाको पासमा गोल गरेका हुन्। खेलको ३७औँ मिनेटमा एस्टन भिल्लाले गोल फर्काएर खेललाई रोमाञ्चक बनाउने प्रयास गरेको थियो। मोरगन रोजर्सले लामो दुरीबाट गरेको सुन्दर प्रहार गोल भएको हो। यो गोलमा गोलकिपर भिकार्डो निरिह रहे। 

यससँगै पहिलो हाफमा नै खेल १-१ गोलको बराबरीमा आएको हो। दोस्रो हाफको ७७औँ मिनेटमा इमि बुएन्डियाले गोल गरेर टोटेनहमका सामर्थकलाई स्तब्ध पारेका थिए। लामो दुरीबाट आएको बललाई लुकास डिग्नेले फस्ट टचमा मिलाइदिएको पासमा उनले गोल गरेका हुन्। 

इमिलाई प्रशिक्षकले खेलको ६१औँ मिनेटमा मात्रै मैदान प्रवेश गराएका थिए। उनी सुपर सब सावित भए। खेलमा धेरै समय बलमाथि नियन्त्रण बनाएको भए पनि टोटेनहमले बराबरी गोल फर्काउन सकेन्। एस्टन भिल्लाको भने यो तेस्रो जित हो।