हङकङ सिक्सेजका लागि नेपाली टोली घोषणा

कार्तिक २, २०८२ |खेल ब्युरो
हङकङ सिक्सेजका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले हङकङ सिक्सेजका लागि नेपाली टोली घोषणा गरेको छ। 

पछिल्लो समय चर्चा कमाउँदै आएको हङकङ सिक्सेजका लागि क्यानले सात सदस्यीय टिम घोषणा गरेको हो। यो प्रतियोगिताबाट शरद भेषावकरले सन्यास लिने क्यानले जानकारी दिएको छ। भेट्रान खेलाडी शरद भेषावकरले नेपाली टिमको कप्तानी गर्ने छन्। 

नेपाली सिनियर टोलीमा रहेका सन्दीप जोरा र आदिल आलम पनि यो टिममा छन्। यसबाहेक लोकेश बम, बसिर अहमद, राशिद खान र रूपेश सिंह रहेका छन्। युवा र सिनियर खेलाडीको टोली रहे पनि सबै खेलाडीले २० ओभरको खेल राष्ट्रिय टिमबाट खेलिसकेका छन्। 

प्रतियोगिता यही कात्तिक २१ गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ। यता लामो समय नेपाली टिमबाट बाहिर रहँदै आएका भए पनि भेष्वाकरले यो टोलीको जिम्मेवारी पाएका हुन्। सन् २०१४ को विश्वकपमा टी-२० आई डेब्यु गरेका भेषावकरले सन् २०२२ यता राष्ट्रिय टिममबाट अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। सन् २०२१ मा ओमानसँग उनले अन्तिम पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए।