काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरता र अनिश्चयतर्फ गएको दाबी गर्नुभएको छ ।
आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले देश र जनताप्रति आफ्नो बफादारिता रहेको भन्दै आफूलाई मन पराउनु वा नपराउनु व्यक्तिगत रूचीको कुरा भएको बताउनुभयो । उहाँले देशलाई अघि बढाउन र शान्ति स्थापना गर्न आफू सधैँ तत्पर भएर लागेको भन्दै ज्यान जोखिममा राखेर असत्यको विरोध गरिरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले सत्य बोल्ने आफ्नो बानी भएको भन्दै जेन-जीहरूलाई भ्रममा पारिएको र उनीहरूलाई धोका दिइएको टिप्पणी गर्नुभयो । उनीहरूले भ्रष्टाचार, शुसासन र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खुलाउनुपर्यो भन्ने माग राखेको तर प्रधानमन्त्रीको राजीनामा नमागेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले भदौ २४ गते नियोजित रूपमा आक्रमण भएको दाबी पनि गर्नुभयो । अध्यक्ष ओलीले आफूलाई पद नछाडेको र अहंकारी भनेको भन्दै पत्रकारहरुको बारम्बार आलोचना गर्नुभएको थियो ।