काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरि कुकुर तिहार मनाइदै छ ।
वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारको दिन सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग मार्ग प्रशस्त हुने विश्वास गरिएको छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन बिहानै उज्यालो हुनुअघि तिलको तेल, सुगन्धित द्रव्य र चन्दन शरीरमा दलेर स्नान गर्दा नरकबाट मुक्ति प्राप्त हुने विश्वास गरिएको छ ।
तिथिको घटबढका कारण तिहारको दोस्रो दिन आजै साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन रहेको छ ।
लक्ष्मीपूजाको रात भैलो खेल्ने परम्परा पनि रहेको छ । यो परम्परा भगवान् विष्णु र राजा बलीको कथासँग सम्बन्धित छ ।