पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छ : कांग्रेसका विशेष महाधिवेशन पक्षधर

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छ : कांग्रेसका विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् ।

आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरूले यस्तो माग गेका हुन् । उनीहरूले केन्द्रीय समितिले बैठक अस्वभाविक रूपमा लम्ब्याएको आरोप लगाएका छन् । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरूसहित केन्द्रीय समितिको मनशाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताउनु भयो । 

वर्तमान केन्द्रीय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको उहाँले बताउनु भयो । कुनैपनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने उहाँले बताउनु भयो । पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाहरुले पुष्टि गरेको  उहाँले जिकिर गर्नुभयो । 

केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको उहाँले टिप्पणी गर्नुभयो । आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महशुस गरी विशेष महाधिवेशन माग गरिएको उहाँले स्पष्ट पार्नुभयो । आफूहरूको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन उहाँले सचेत गराउनु भयो । 

आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको उहाँकाे भनाइ छ । उहाँले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महशुस आफूहरूले गरेको बताउनु भयो । उहाँले विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वभाविक आवश्यकताको रूपमा महशुस गरी कार्यान्वयनतर्फ अघि बढ्न माग गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरू नभएको बताउनु भयो । उहाँले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरू निन्दनीय रहेको बताउनु भयो । 

मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने उहाँकाे भनाइ छ । २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भएको कुरा महशुस गर्न जरूरी रहेको उहाँकाे भनाइ छ ।

गत असोज २९ गते नेपाली कांग्रेसका केन्द्रीय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४औं महाधिवेशनका २ हजार ४ स्य ८८ प्रतिनिधिहरूले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विधानको धारा १७ (२) बमोजिम महाधवेशनको माग गरेको बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.