कांग्रेसभित्र सरकारको मूल्यांकनमा फरकपन

कार्तिक १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसभित्र सरकारको मूल्यांकनमा फरकपन

काठमाडौं । सत्ताको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सरकारको कामकारबाहीलाई लिएर मत बाझिने गरेको छ । एउटा समूहले सरकार सकारात्मक बाटोतर्फ अघि बढिरहेको निष्कर्ष निकाल्दा अर्को समूह भने लक्ष्यअनुसार काम नै हुन नसकेको बताइरहेको छ । कांग्रेसको आन्तरिक राजनीतिक प्रतिस्पर्धाका कारण पनि सरकारको मूल्यांकनमा फरकपन देखिएको हो । यसले विपक्षीहरुलाई सरकारको आलोचना गर्न बल पुगेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीमाथिसमेत दबाब बढाएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तुष्ट देखिनुभएको छ । सत्तारुढ दलहरूको बैठकमा सभापति देउवाले सरकार ठीक दिशामा अघि बढिरहेको दाबी मात्र गर्नुभएन विपक्षीहरूले अनावश्यक भ्रम सिर्जना गर्न खोजेको आरोपसमेत लगाउनुभयो । सञ्चार माध्यममै पनि देउवाले सरकारका कामप्रति असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको प्रस्टीकरण नै दिनुभयो ।

कांग्रेस र एमालेबीच गत असार १७ गते भएको ७ बुँदे सहमतिको जगमा असार ३० गते ओली नेतृत्वको सरकार गठन भएको हो । सहमति कायमै रहे ओलीपछि देउवा प्रधानमन्त्री बन्नु हुने छ । त्यसकारण देउवाले सरकारको बचाउ गर्नु स्वभाविक हो । देउवा पक्षका सांसद तथा नेताहरुसमेत सरकारको कामप्रति सन्तुष्ट नै देखिन्छन् ।

सभापति देउवा र उहाँ निकट नेताहरुले सरकारको बचाउ गरिरहे पनि कांग्रेसकै वरिष्ठ नेता शेखर कोइराला भने आलोचकका रुपमा उभिनुभएको छ । सरकारले देशमा सुशासन कायम गर्न नसकेको, भ्रष्टाचारको छानबिन नगरेको, शिथिल अर्थतन्त्रलाई लयमा फर्काउन नसकेको र विपद्‌मा परेका नागरिकको उद्दार गर्न नसकेकोलगायतका आरोप कोइरालाले लगाउनुभएको छ । तर उहाँले वर्तमान सरकारको निरन्तरतामा भने जोड दिदै काम कारवाही चाँही सच्चिनुपर्ने बताउनुभएको छ । सरकार ढल्ने कुरा गरेर जनतालाई भुलभुलैयामा पार्ने नहुने उहाँको तर्क छ ।

त्यसो त अहिलेको गठबन्धन बन्नुअघिसम्म कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले मिलेर सरकार गठन गर्नुपर्ने धारणा राख्दै आउनुभएको थियो । माओवादी नेतृत्वमा कांग्रेस सरकारमा हुँदा वा प्रतिपक्षमा बस्दा पनि कोइराला समूहमा रहेका नेताहरूले निरन्तर संसद् र सडकमा कांग्रेस-एमाले गठबन्धनको वकालत गरेका थिए । अहिले यही समूह सरकारको कामप्रति चित्त बुझाउन नसक्ने अवस्थामा किन पुगेको हो त ?

सरकारको विषयलाई लिएर कांग्रेसभित्र देखिएको दुई धारको दृष्टिकोणलाई राजनीतिक विश्लेषकहरुले भने गुटगत राजनीतिको उपजका रुपमा मात्र लिएका छन् । संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको शक्तिशाली सरकारले देखिने गरी काम गर्न नसकेका कारण यस्ता अवस्था आएको उनिहरुको ठम्याइ छ ।

दुई ठूला शक्ति मिलेर सरकार सञ्चालन हुनु आफैँमा अस्वाभाविक र जटिल प्रक्रिया भएको तथा यस्तो अवस्थामा सत्ताको मुख्य घटक दल भित्र सरकारको कामकारबाहीलाई लिएर एकमत नहुनुले भने गलत सन्देश मात्र प्रवाह भइरहेको छ । जसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक दबाब र तनाब सृजना गर्दा सरकारले लय समात्न सकिरहेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement