कम्युनिस्ट पार्टी : भाषणमा एकता, व्यवहारमा फुट

कार्तिक १९, २०८१ |दीपक आचार्य
कम्युनिस्ट पार्टी : भाषणमा एकता, व्यवहारमा फुट

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टिहरु एक भएर बस्नै नसक्ने इतिहास तर पनि कम्युनिष्ट एकताको कुरा भने सदैव चलिरहन्छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा ७५ वर्षको इतिहासमा एकता र विभाजनको शृङ्खला लगातार चल्दै आएको छ । अहिले पनि एक दर्जनभन्दा समूहमा विभाजित छन् । दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ सालमा भएको एकता तीन वर्ष पनि टिक्न सकेन । यस्तै घटनाका कारण पछिल्लो समय कम्युनिस्ट नेताहरुबीच नै एकताप्रति विश्वास छैन ।

कम्युनिस्ट पार्टीहरुबीच एकता टाढिनुको कारण नेताहरुको अहम् प्रवृत्ति नै देखिन्छ । अर्कोतर्फ विभाजन र एकतामा देश तथा जनताका मुद्दा भन्दा व्यक्तिगत फाइदा र टकराव अगाडि सार्दा कम्युनिष्ट पार्टीहरुबीच एकताको नारा कसैले नपत्याउने भइसकेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २०७४ सालको संसदीय निर्वाचनमा गठबन्धन मात्र बनाएनन् २०७५ फागुनमा पार्टी एकता नै गरेर शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरे ।

तर नेताहरुबीच अन्तरसंघर्ष चर्किएपछि तीन वर्ष पनि नटिक्दै २०७७ सालमा फेरि विभाजित भए । सबै कम्युनिष्ट एक हुने भन्दै सुरु गरेको अभियान सत्ता र पार्टीभित्र को बलियो हुने भन्ने विवादकै कारण विभाजन उत्कर्षमा पुगेको समयमा अदालतको आदेशबाट पाटी पुरानै अवस्थामा पुगे । त्यसयता पनि माओवादी केन्द्रले एमाले बाहेकका अन्य कम्युनिस्ट पार्टीसँग एकताको गृहकार्य गर्‍यो । त्यो सफल भएन । 

बरु नेताहरु एक-अर्कामाथि आरोप-प्रत्यारोप गर्ने क्रम जारी रह्यो । अहिले सरकारको नेतृत्व गरेको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले आफूमा समायोजन हुनेहरुलाई ल्याउने तर एकता प्रक्रियामा नजाने रणनीतिमा छ ।

शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गरेर २०६४ सालको संविधानसभाको चुनावमा ठूलो दल बनेको नेकपा माओवादी केन्द्र विभिन्न समूहमा विभाजित भएर अहिले कमजोर अवस्थामा छ । उसले पूर्वमाओवादीहरुसहित विचार मिल्नेसँग एकताको विषय उठाइरहेको छ । तर परिणाम निकाल्न सकेको छैन । तत्काल कम्युनिस्ट घटकहरु एक हुने सम्भावना माओवादी केन्द्र स्वयंले देखेको छैन ।

एकतापछि पार्टीभित्र आफ्नो हैसियत कस्तो हुने भन्ने पिरलो नेताहरुमा देखिन्छ । आवरणमा सैद्धान्तिक कुरा देखिए पनि पार्टी एकतापछि आफ्नो अस्तित्व थप संकट पर्ने त होइन भन्ने आशंकाका कारण पार्टी एकता गर्न नेताहरु झस्किने गरेका हुन् ।

जनताले कति रुचाएका छन् वा जनमत कति आएको छ भन्ने कुरालाई आधार मान्नुको साटो हरेक विभाजित पार्टी तथाकथित सैद्धान्तिक जलप र नारामा रमाइरहेका हुन्छन् । त्यसमाथि सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेले नै एकताप्रति चासो नदेखाउँदा अरु दल मिलेर पनि परिणाम निकाल्न सकिन्छ भन्ने आशा नेताहरुले नदेखेको हुनसक्ने बुझाइ विश्लेषकको छ ।

एकताको कुरा गर्ने तर सैद्धान्तिक छलफलमै अल्झने, आरोप प्रत्यारोपमा उत्रने र कसैसँग पनि विश्वास गर्न नसक्ने नेताहरुको चरित्रका कारण नेपालमा कम्युनिस्ट एकताको कुरा मौसमी गफमा सिमित भएको छ । 


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement