काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुँदैछ । ४७ औं राष्ट्रपतिका लागि हुने निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतदानको एकदिन बाँकी रहँदा आइतबार दुवै उम्मेदवारहरु अनिर्णित मतदातालाई आफ्नो पक्षमा पार्न स्वीङ स्टेटमा केन्द्रित भएका थिए ।
राष्ट्रपतिमा निर्वाचित हुन स्वीङ स्टेटहरु पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा गरी ७ राज्य निर्णायक मानिन्छन् । कुल १६ करोड मतदातामध्ये साढे ७ करोड नागरिकले मतदान गरिसकेका छन् । निर्वाचित राष्ट्रपतिको कार्यकाल जनवरी २०२५ देखि सुरु हुनेछ । विश्व राजनीति, अर्थतन्त्र र कूटनीतिमा शक्तिशाली मानिने भएकाले अमेरिकी राष्ट्रपति निर्वाचनलाई विश्वभर चासोका साथ हेरिने गरेको छ ।
राष्ट्रपतिका अतिरिक्त अमेरिकी मतदाताले मंगलबार अर्थात् ५ नोभेम्बरका दिन तल्लो सदन कंग्रेसका ४ सय ३५ र सिनेट तथा माथिल्लो सदनका ३४ सिटमा नयाँ सदस्य चयनका लागि समेत मतदान गर्नेछन् ।
डेमोक्रेटिक पार्टी अमेरिकाको एक उदारवादी पार्टी हो, जसको एजेन्डा मुख्यतया नागरिक अधिकार, सामाजिक सुरक्षा र जलवायु परिवर्तनका मुद्दालाई अगाडि बढाउने र त्यसका लागि उपायहरू सुनिश्चित गर्ने हो । रिपब्लिकन पार्टी अमेरिकाको कन्जरभेटिभ पार्टी हो । यसलाई ग्रान्ड ओल्ड पार्टी पनि भनिन्छ । यो पार्टी कर घटाउने, सरकारको आकार घटाउने, बन्दुक राख्न अधिकार दिने, अध्यागमनको विरोध गर्ने र गर्भपतनमा कडा प्रतिबन्ध लगाउने पक्षमा छ ।
अमेरिकाका दुई प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गरेका छन् । यसका लागि यी दलले राज्य प्राइमरी र ककस आयोजना गर्छन्, जसमा जनताले मतदानमार्फत आफ्नो पार्टीको नेतृत्व गर्ने नेता छान्छन् । रिपब्लिकनबाट डनल्ड ट्रम्पले पार्टीभित्रकै आफ्ना प्रतिद्वन्द्वीमाथि ठूलो अग्रता लिएर आफ्नो पार्टीको समर्थन जितेका छन् । विस्कन्सिनमा सम्पन्न पार्टी अधिवेशनमा उहाँ रिपब्लिकनको आधिकारिक राष्ट्रपति पदका उम्मेदवार बनेका थिए ।
त्यस्तै राष्ट्रपति जो बाइडेन चुनावी दौडबाट पछि हटेसँगै उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटको तर्फबाट राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैछिन् । बाइडेन बाहिरिएपछि, ह्यारिसको उम्मेदवारीलाई अरू कुनै पनि डेमोक्र्याटले चुनौती दिएनन् । ट्रम्प र ह्यारिस चुनावी मैदानमा छन् । मंगलबार अमेरिकी राष्ट्रपतिको लागि मतदान भइरहँदा अमेरिकी मतदाताले अमेरिकाको तल्लो सदन कंग्रेसका ४ सय ३५ र सिनेट तथा माथिल्लो सदनका ३४ सिटमा नयाँ सदस्यका लागि मतदान गर्नेछन् ।
तल्लो सदनले कानुन पारित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ भने सिनेटले सरकारका महत्वपूर्ण नियुक्तीहरुका लागि मतदान हुने गर्छ । अमेरिकी चुनावमा १८ वर्षभन्दा बढी उमेरका मानिसहरुले राष्ट्रपति पदका लागि मतदान गर्न योग्य छन् भने अग्रीम मतदानको समेत व्यवस्था छ । अमेरिकामा यस वर्ष कुल मतदाता २३ करोड छन् । त्यस मध्ये रेजिस्टर्ड भोटर १६ करोड छन् भने अहिलेसम्म सात करोडभन्दा बढिले मतदान गरिसके ।
अमेरिकाको राष्ट्रपति चुनावमा रमाइलो के छ भने सम्पूर्ण देशमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुँदैन । यसको सट्टा, दुवै दलका उम्मेदवारहरूले सबै ५० राज्यमा चुनाव जित्न प्रतिस्पर्धा गर्नुपर्छ । जहाँ जनसंख्यामा आधारित इलेटोरल कलेज अर्थात् निर्वाचक मण्डलको निश्चित संख्या हुन्छ । ५० राज्यमा ५ सय ३८ इलेक्टोरल कलेज छन् । यी मध्ये, २ सय ७० वा त्यसभन्दा बढी जित्ने मात्र विजेता घोषित हुन्छन् । त्यसमा पनि विशेष गरी ७ स्वीङ स्टेटमा रहेको इलेक्टोरल कलेजको संख्या निकै महत्वपूर्ण मानिन्छ ।
राष्ट्रपतिय चुनाव सकिएपछि पनि सबै राज्यका निर्वाचक मण्डलहरूले फेरि डिसेम्बरमा मतदान गर्नेछन् । त्यही मतदान चाहिँ राष्ट्रपति चयनमा निर्णायक मानिन्छ । आ–आफ्नो राज्यमा भेला भएर निर्वाचक मण्डलहरुले हालेको मतको गणना जनवरीमा हुन्छ र निर्वाचक मण्डलको मतको बहुमत प्राप्त गर्ने उम्मेदवारलाई जनवरी २० मा आधिकारिक रूपमा अमेरिकाको नयाँ राष्ट्रपति घोषणा गरिन्छ ।