दैलेखमा सेनाले प्रयोग गरेको जग्गाको २१ वर्षपछि मुआब्जा दिने तयारी

कार्तिक १९, २०८१ |चक्र भण्डारी
दैलेखमा सेनाले प्रयोग गरेको जग्गाको २१ वर्षपछि मुआब्जा दिने तयारी

दैलेख । सशस्त्र द्वन्द्वका बेला दैलेखको दुल्लुमा माओवादीविरुद्ध प्रतिकार हुँदा त्यस क्षेत्रका स्थानीयको सुरक्षाका लागि नेपाली सेनाको क्याम्प बस्यो । सेनाको क्याम्प स्थानीयको निजी जग्गामा बसेको थियो । पटकपटक जग्गा अधिग्रहण हुने आश्वासन पाएका ४४ घर परिवारले यो दुई दशक आफ्नो जग्गा भोगचलन गर्न पाएनन् । सेना बसेको २१ वर्षपछि बल्ल जग्गा अधिग्रहण प्रक्रिया थालिँदैछ ।

उमेरले ७० वर्ष पुग्नुभएकी नन्दकलाको जस्तै पीडा छ ४४ घर परिवारको । द्वन्द्वकालमा सेना आएर बसेपछि शान्ति सुरक्षा होल भनेर उनीहरले आफ्नो नम्बरी जग्गामा क्याम्प राख्न दिए । २१ वर्षअघि आफ्नो थातथलो सेनाको जिम्मा लगाएका ४४ घरपरिवार सेनाबाट मुआब्जा पाउने आसमा बसेका छन् ।

जग्गा अधिग्रहण प्रक्रिया दशकौं लम्बिएपछि आफ्नै घर बनाएर सबै परिवार सँगै बस्ने आशा लिएका ५ जना घरमुलीको त यस अवधिमा मृत्यु नै भइसकेको छ। २०६१ साल कात्तिक २३ गते माओवादीविरुद्ध दुल्लु विद्रोह र प्रतिकार अभियानमा स्थानीयको सुरक्षा लागि सरकारले केही समयका लागि भन्दै स्थानीयको जग्गामा सेनाको क्याम्प राख्यो ।

४४ घरपरिवारले आफ्नो थातथलोमा सेनालाई बस्न दिएर आफू भने आफन्तकहाा आश्रय लिए। सेनाले छिट्टै जग्गा अधिग्रहण गर्ने र उचित बुआब्जा दिने भन्दाभन्दै २१ वर्ष बितिसकेको छ ।

अब भने ४४ घरपरिवारको ५५ रोपनी जग्गा तत्कालै अधिग्रहण गर्ने गरी मुआब्जा वितरण गरिने बताइएको छ । अबको २ महिनाभित्र सक्नेगरी काम गर्ने तयारी छ । त्यसका लागि दैलेखस्थित कलीदत्त गणका नाममा ५ करोड रुपैयाँ आएको छ ।

सेना बसेको जग्गाका धनीले आफ्नो हातमा जग्गा धनीपूर्जा भए पनि २१ वर्षदेखि त्यसको जोतभोग गर्न र आफ्नो हो भन्न पाएका छैनन् । उचित मुआब्जा आए आफ्नै घर बनाएर बस्ने उनीहरुको सपना अब पूरा हुने बाटोमा छ । 


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement