भ्रष्टाचार नियन्त्रण उपदेश दिने गरेजस्तो सजिलो छैन : प्रधानमन्त्री दाहाल

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचार नियन्त्रण उपदेश दिने गरेजस्तो सजिलो छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण उपदेश दिएजस्तो सजिलो नभएको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले बहुआयामिक रूपमा रहेको भ्रष्टाचार रोक्न सरकार प्रयत्नशील भए पनि यसको जालो धेरै ठूलो रहेकाले जटिल भएको बताएका हुन् । सोच परिवर्तन गर्ने रणनीतिविना भ्रष्टाचार नियन्त्रण सहज नहुने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्री दाहालले भ्रष्टाचार तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति विदेशबाट प्राप्त गर्ने र निजी क्षेत्रमा हुने भ्रष्टाचार दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागेको जानकारी दिए । 

दाहालले सुशासनलाई प्राथमिकता दिएर काम गर्दै जाँदा जटिल समस्याहरूको सामना गर्नु परेको बताए । भ्रष्टाचार नियन्त्रण ‘मान्छेहरूले सजिलै भन्ने गरेको जस्तो, उपदेश दिने गरेजस्तो सजिलो छैन,’ उनले भने । 

कार्यक्रममा अख्तियारका कार्यवाहक प्रमुख आयुक्त किशोरकुमार सिलवालले भ्रष्टाचारप्रति जति चासो देखाए पनि त्यसको नियन्त्रण हुन नसकेको स्वीकार गर्दै भ्रष्टाचार विरोधीभन्दा अनैतिकहरूको सञ्जाल ठूलो भएको बताए । उनले संसद्मा विचाराधीन अख्तियारसम्बन्धी विधेयकमा आवश्यक संशोधनसहित चाँडो पारित गरी आयोगलाई समयानुकूल बनाउनसमेत आग्रह गरे । 

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले संघ वा प्रदेश सरकारका निर्णयलाई समेत नीतिगतको संज्ञा दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन् । सन् २००३ अक्टोबर ३१ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गर्दै डिसेम्बर ९ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेअनुरूप आजको दिन विभिन्न कार्यक्रम गरी मनाइने गरिएको हो । 

संयुक्त राष्ट्रसंघीय लागूपदार्थ तथा अपराध निकायको तथ्यांकअनुसार विश्वभर बर्सेनि १ खर्ब डलर बराबरको घुस लेनदेन हुने गरेको छ ।

सम्बन्धित समाचार...

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

अलमलमा अख्तियार, ठूला भ्रष्टाचारको अनुसन्धान किन सुस्त ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.