
काठमाडौं । भोटेकोशी बाढीको पहिलो दिनदेखि नै उडाइएका नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरले हजारौंको ज्यान जोगाए ।
स्थलमार्गबाट तत्काल सम्भव नभएका ठाउँमा हेलिकाेप्टर नै उद्धारको मुख्य माध्यम बने । बाढी आएको पहिलो ९६ घण्टामै ८ सय २० एकतर्फी उडानमार्फत ३२ सय ४३ जनाको उद्धार गरिएको थियो । त्यसपछि पनि राहत र उद्धारका लागि निरन्तर हेलिकाेप्टर परिचालन भइरहेका छन् । तर, हवाई उद्धारमा लागेको खर्चबारे भने फरक–फरक तथ्य सार्वजनिक भएका छन् ।
गृहसचिवले संसदीय समितिमा हेलिकाेप्टर उडानमै १३ देखि १४ अर्ब रुपैयाँ दायित्व सिर्जना भएको बताएपछि विवाद उत्पन्न भयो । पछि उनले उक्त रकम हेलिकाेप्टरलाई तिर्नुपर्ने नभइ विपद्पछिको सरकारको समग्र दायित्वका सन्दर्भमा भनेर भनाइ सच्याए ।
भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकोप्टरले कति उडान गरे र तिनीहरुको खर्च कति ?
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका सडक तथा स्थलमार्गमा क्षति पुर्याएपछि उद्धार र राहतको एकमात्र विकल्प बन्यो– हेलिकोप्टर । बाढी आएको थाहा पाउनासाथ नेपाली सेनाको हेलिकाेप्टर रसुवातर्फ उड्यो ।
प्रभावित क्षेत्रको निगरानी गर्दै उद्धार सुरु गरेको सेनाले त्यसै दिन सातवटा हेलिकोप्टर परिचालन गर्यो । पहिलो दिनमै सेनाका हेलिकाेप्टरले ५९ वटा सर्टिज अर्थात् एकतर्फी उडान गरे । त्यसबाट १ सय २७ जनाको उद्धार भयो । भोलिपल्ट निजी क्षेत्रका हेलिकोप्टरसमेत उद्धारमा थपिए ।
भदौ ११ गते ३ सय २९ सर्टिजमार्फत १३ सय ४१ जनालाई उद्धार गरिएको थियो । भदौ १२ गते २ सय ६९ र १३ गते १ सय ६३ सर्टिज भए । यसरी बाढीपछिको पहिलो ९६ घण्टामै सेना र निजी क्षेत्रका हेलिकाेप्टरले ८ सय २० सर्टिजमार्फत ३२ सय ४३ जनाको उद्धार गरे ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम पनि हेलिकाेप्टरबाटै भयो । नेपाली सेनाका अनुसार असोज ९ गतेसम्म रसुवा र नुवाकोटमा गरी सेना र निजी क्षेत्र हेलिकोप्टरले ३ हजार ५ सय ७ पटक उडान गरेका छन् । रसुवामा १ हजार ३ सय ८५ र नुवाकोटमा २ हजार १ सय २२ पटक उडान गरिएका छन् । यी उडानमार्फत रसुवामा २ लाख १३ हजार ४ सय ६० किलो र नुवाकोटमा १ लाख ४२ हजार १६ किलो राहत सामग्री पुर्याइयो।
यति ठूलो संख्यामा उडान भएपछि हेलिकाेप्टरको खर्चबारे पनि प्रश्न उठेको छ । असोज ५ गते कानुन समितिको बैठकमा गृहसचिव केदार शर्माले भोटेकोशी बाढीपछि हेलिकप्टर उडानमै १३ देखि १४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका थिए ।
तर, पछि उनले आफ्नो भनाइ सच्याएका छन् । हेलिकाेप्टरलाई मात्रै १४ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भनेर आफूले भन्न नखोजेको उनको भनाइ छ । विपद्पछि मृतक तथा प्रभावित परिवारलाई दिनुपर्ने राहत, क्षतिपूर्ति, उद्धार तथा राहत सामग्री लगायतका कारण सरकारको समग्र आर्थिक दायित्व बढ्दै गएको सन्दर्भमा उक्त अभिव्यक्ति दिएको उनको स्पष्टीकरण छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान भने फरक छ । प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीका अनुसार हेलिकाेप्टरबाट गरिएको उद्धार तथा राहतमा सबै जोड्दा अधिकतम १५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
निजी क्षेत्रका हेलिकाेप्टरले पनि न्यूनतम सञ्चालन खर्चमा उडान गरेको र नेपाली सेनाको हकमा पनि खर्च न्यून राखिएको प्राधिकरणको दाबी छ । विपद्पछिको उद्धार र राहतमा परिचालनका लागि साना हेलिकाेप्टरले प्रतिघन्टा भ्याटबाहेक १ हजार ८ सय अमेरिकी डलर लिने सहमति सरकारसँग भएको वायु सेवा सञ्चालक संघले जानकारी दिएको छ ।
जुन आइतबारको विनिमय दरअनुसार नेपाली रुपैयाँ २ लाख ७५ हजार ८ सय ८६ हुन्छ ।