युवाको मन बुझ्न ढिला भएको ओलीको स्वीकारोक्ति, नेतृत्व छाड्ने अडान यथावत्

आश्विन ९, २०८३ |दशरथ राई
युवाको मन बुझ्न ढिला भएको ओलीको स्वीकारोक्ति, नेतृत्व छाड्ने अडान यथावत्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुदेखि नै जेन-जी जनआन्दोलन र फागुन २१ को निर्वाचनबाट आएको नतिजा अस्वीकार गर्दै आए । 

तर, निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत पहिलो पटक निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी स्वीकारेका छन् । त्यतिमात्र होइन, युवाको मन बुझ्न ढिला भएको समेत बताएका छन् । 

प्रतिवेदनमा के-के विषय स्वीकारेका छन् ओलीले ?

एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्- एमालेले आफैँलाई प्रश्न गर्ने, आफ्ना कमजोरी पहिचान गर्ने, भ्रमबाट सत्य छुट्याउने र भविष्यको बाटो तय गर्ने केन्द्रीय कमिटीको बैठक हो ।

ओलीका प्रतिवेदनमा केही आत्मालोचना छन् र केही प्रश्न, जुन यसअघि उनले स्वीकारै गरेका थिएनन् । यसका साथै उनका केही आरोप पनि छन्, जुन आफूविरुद्ध प्रश्न गर्नेहरु प्रति लक्षित छन् ।

फागुन २१ को निर्वाचनमा एमाले जनमतबाट अस्वीकृत भयो, ओली आफैं ठूलो मतान्तरबाट पराजित भए । निर्वाचनको नतिजालाई उनले निरन्तर अस्वीकार गरिरहे । तर, प्रतिवेदनमा उनी त्यही नतिजाप्रति आत्मालोचित भएका छन् ।

भनेका छन्- निर्वाचनको परिणामले हामीलाई चोट पुर्‍याएको छ, चोट सिट संख्यामा मात्र छैन, गाउँ-गाँउका कार्यकताको मन र जनतासँग हाम्रो सम्बन्धबारे उठेका प्रश्नमा छन् ।

ओलीले पार्टी अध्यक्षका हैसियतले निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी स्वीकार गरेको उल्लेख गर्दै प्रश्न पनि गरेका छन् - जनताको मनसम्म हाम्रो कुरा किन पुग्न सकेन, हामीले गरेका काम जनताको स्मृतिमा किन टिकाउन सकेनौँ ?

जनताले दिएको मतको सम्मान गर्नु आफूहरुको दायित्व भएको उल्लेख गर्दै उनले एमालेले निर्वाचन परिणामलाई स्वीकार गरेको तर जनादेशको सम्मान गर्नु भनेको निर्वाचनपूर्वको राजनीतिक वातावरणको समीक्षा नगर्नु होइन भन्दै प्रश्न पनि उठाएका छन् ।

निर्वाचनको मत वैध भए पनि निर्वाचन वातावरणको गम्भीर अध्ययन आवश्यक भएको उनले औंल्याएका छन् । निर्वाचनमा भएको पराजयबाट शिक्षा लिनुपर्ने पनि उनले उल्लेख गर्दै त्यसको दोष पार्टीको आन्तरिक कमजोरीलाई दिएका छन् । 

संगठन विस्तार भए पनि त्यसअनुसार शुद्धीकरण, सुदृढीकरण र सक्रियता नभएको र कमिटीहरु औपचारिक संरचनामा सीमित भए बैठक भएको आरोप उनले लगाएका छन् । जनतासँग प्रत्यक्ष संवाद घटेको र कार्यकर्ता र नेतृत्वीच सूचना प्रवाह पर्याप्त नभएको उनले उल्लेख गरेका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा युवाको मन बुझ्न ढिला भएको भन्दै रोजगारी, अवसर, उद्यम, प्रविधि, स्वतन्त्रता, सम्मान र छिटो परिणाम चाहनेहरुलाई बुझ्न नसकेको औल्याएका छन् । एमालेपछि पर्नुको कारण सञ्चार प्रणाली डिजिटल युगअनुकूल पर्याप्त र छरितो हुन नसकेको भन्दै ओलीले निर्वाचनमा पराजय हुनुमा उम्मेदवार छनोट, स्थानीय असन्तोष, अन्तरविरोध र अन्तर्घात एवं संगठनात्मक थकान पनि जोडिएका छन् ।

गल्ती स्वीकार गरे पनि नेतृत्वबाट नभाग्ने ओलीको अडान भने कायमै छ । उनले प्रतिवेदनमार्फत आफूमाथिको आलोचना हुनु अस्वाभाविक नभएको भन्दै सार्वजनिक व्यक्ति प्रश्नबाट भाग्न नमिल्ने र अझ कठोर आलोचना सुन्नुपर्छ पनि भनेका छन् ।

उनले प्रतिवेदनमा भनेका छन्- अध्यक्षको आलोचना गर्नुहोस्, नीति गलत छ भने भन्नुहोस् निर्णय प्रक्रियामा सुधार गर्नुपर्छ । कार्यशैली, उम्मेदवार छनोट, संगठन र प्रचारबारे समीक्षा गरेर जान तयार रहेको ओलीले प्रतिवेदनमार्फत बताएका छन् । 

यति भनिरहँदा ओलीले केही व्यक्तिहरुले अध्यक्ष विस्थापित गर्ने मनसाय र प्रयासका बेमौसमी बाजा बजाइरहेको भन्दै त्यसका लागि पुनर्गठनको नारा उछालिएको आरोप पनि लगाएका छन् । उनले प्रतिवेदनमा पार्टी पुनगर्ठन कुनै रहर वा लहडको विषय होइन भन्दै असहज र असामान्य अवस्थामा बाध्यतावस गरिने कार्य हो भनेका छन् । 

निर्वाचन नतिजाप्रति आत्मालोचितजस्तो देखिए पनि न त उनी नेतृत्व छाड्न तयार छन् न पार्टी पुनर्गठनका लागि तयार नै । भनेका छन्- पुनर्गठनको को हल्लाले शब्दार्थ वा भावार्थ केही बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग विल्कुलै मेन खाँदैन । 

रुपान्तरणलाई अस्थिरताको भाषा होइन, पुनर्जागरणको भाषा बनाउनुपर्छ, हस्तान्तरण डर होइन, संस्थागत परिपक्वत हो र पुस्तान्तरण विभाजन होइन, निरन्तरता हो ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।