पाकेको धान खेतमै ढलेपछि देउखुरीका किसान चिन्तित

आश्विन ११, २०८३ |अमर क्षितिज भण्डारी
पाकेको धान खेतमै ढलेपछि देउखुरीका किसान चिन्तित

दाङ । दाङको देउखुरी क्षेत्रका किसानको काट्न लागि ठिक्क परेको धानबालीमा निरन्तरको वर्षा र हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ । 

धानजति खेतमै भिजेपछि किसानलाई पर्नु पीर परेको छ । बर्षेनि यही समस्या भोग्दै आएका किसानले डुबानको समस्या समाधान गर्न र कृषि बीमाको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

सिँचाइ सुविधा भएका कारण असारमै धानखेती गरेका यहाँका किसान धान भित्र्याउन ठिक्क परेका थिए । मौसको पूर्वसूचनाअनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए । तर, लगातारको वर्षा र हावाहुरीका कारण धान सबै खेतमै सुतेको छ भने खेत जलमग्न छ । 

वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानका लागि समस्या पर्ने भएपछि किसान चिन्तित छन् । देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ती, र गढवा गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहेँलपुर छ । 

किसानले यो वर्ष मात्रै होइन बर्षेनि समस्या भोग्दै आइरहेका छन् । कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण क्षति हुने गरेको छ । धानबालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै सुरु गर्ने र के कति सकिन्छ किसानलाई राहत दिने पालिकाहरूले जनाएका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।