राष्ट्रियसभा चुनावका लागि भागबन्डा मिलाउँदै गठबन्धन, अध्यक्षमा कांग्रेस र माओवादीको दाबी

मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
मंसिर २२, २०८० |अञ्जना लामिछाने
राष्ट्रियसभा चुनावका लागि भागबन्डा मिलाउँदै गठबन्धन, अध्यक्षमा कांग्रेस र माओवादीको दाबी

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । त्यसका लागि मंसिर २४ देखि २९ गतेसम्मको मिति तोकिएको छ ।

निर्वाचन हुन ४८ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलभित्र भने भागबन्डाको कसरत सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफ्ना दलबाटै राष्ट्रियसभा अध्यक्ष बनाउन कसरत गरिरहेका छन् भने गठबन्धनका सबै दल अहिले भइरहेको भन्दा बढी सिट पाउनुपर्ने दाबी गरिरहेका छन् ।

राष्ट्रियसभामा अध्यक्षसहित २० सदस्यको ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । निर्वाचन सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आगामी माघ ११ गते १९ सिटका लागि निर्वाचन हुँदै छ । एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । यीमध्ये नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ तथा जसपा र स्वतन्त्र १-१ जनाको पद खाली हुँदै छ ।

प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेका दलले राष्ट्रियसभा निर्वाचन पनि मिलेरै जाने बताएका छन् । सत्तारुढ दलहरुको अंकगणित हेर्दा उनीहरु एकजुट भएर गए यसपटकको निर्वाचनमा एमालेले आफ्नो खाली हुने आठवटै सिट गुमाउने देखिएको छ । त्यसको भाग आफूहरुले पाउनुपर्ने दाबी गठबन्धनका सबै दलहरुको छ ।

गठबन्धनमा रहेका दलमध्ये मतभार धेरै भएकाले आफूले अध्यक्षसहित ९ सिट पाउनुपर्ने दाबी नेपाली कांग्रेसको छ । ‘सदनमा मतभार हाम्रो पार्टीकै धेरै भएकाले बढी भाग खोज्नु स्वभाविकै हो,’ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा राजनीतिक दल, मतको जोडघटाउ

यता माओवादी केन्द्रले पनि सरकारको नेतृत्व गरेका आधारमा अध्यक्षसहित ७ सिट दाबी गर्ने तयारी गरेको छ । त्यसैगरी एकीकृत समाजवादीले आफ्नो खाली रहेको दुई सिटसहित अर्को दुई सिट पाउनुपर्ने माग राखेको छ भने जसपाले पनि दुई सिटको दाबी गरेको छ । तर गठबन्धनले दलको मतदाता र मतभार हेरेर मात्रै सिट बाँटफाँट गर्ने तयारी गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ ।

अबको निर्वाचनबाट कोशी, लुम्बिनी र मधेश प्रदेशबाट २/२ जना, गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट ३/३ जना र वागमती प्रदेशबाट ४ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।