राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा राजनीतिक दल, मतको जोडघटाउ सुरु

सत्ता गठबन्धन मिलेर माघमा हुने चुनावमा गए एमालेलाई कठिन
मंसिर १४, २०८० |अञ्जना लामिछाने
राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा राजनीतिक दल, मतको जोडघटाउ सुरु

काठमाडौं । राजनीतिक दलहरु माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा जुटेका छन् । फागुन २० गते राष्ट्रियसभाका अध्यक्षसहित २० जनाको ६ वर्षे कार्यकाल सकिँदै छ ।

यसरी कार्यकाल सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका एक, स्वतन्त्र एक र राष्ट्रपतिबाट मनोनीत एक सदस्य छन् । अहिलेकै गठबन्धनबमोजिम नै दलहरु चुनावमा गए एमालेले सबै सिट गुमाउने देखिएको छ ।

राष्ट्रियसभा निर्वाचन ऐनमा पदावधि सकिनु ३५ दिनअघि नै सदस्यहरुको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । माघ ११ गते हुने निर्वाचनबाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट ३, दलित २, महिला ७ र अन्य ७ जना निर्वाचित हुनेछन् । यीमध्ये कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २-२ जना, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३-३ जना र बागमतीबाट ४ जना निर्वाचित हुनेछन् ।

यो निर्वाचनमा ५५० प्रदेशसभा सदस्य र ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी १५ सय ६ जना मतदाताले मतदान गर्नेछन् । यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए ।

सत्ता गठबन्धन दलहरु एक ढिक्का भएर चुनावमा गए एमालेले २० मध्ये एक सिट पनि नजित्ने देखिन्छ । कोशीमा ९३ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ गरी कुल मतदाता संख्या ३६७ छ । जसको कुल मतभार ९ हजार ६२२ हुन्छ ।

त्यसमध्ये एमालेसँग चार हजार २१० मतभार छ भने गठबन्धन दलहरु कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपासँग पाँच हजार ४७४ मतभार छ । मतदानमा मतहरु यताउता नभएको अवस्थामा गठबन्धनले सबै सिट जित्नेछ ।

त्यसैगरी मधेश प्रदेशमा ३७९ जनाले मतदान गर्नेछन् । हालकै अवस्थामा एमालेसँग २३०२ र सत्ता गठबन्धनसँग ७९४६ मतभार छ ।

बागमती प्रदेशमा ३४८ मतदातामध्ये एमालेका ६० र गठबन्धनको १७४ मत हुँदा कांग्रेसको मात्र १ सय ८ मत छ । कांग्रेससहितको गठबन्धनसँग ६७५१ र एमालेसँग २५७२ मतभार छ । गण्डकीमा एमालेको तुलनामा गठबन्धन ४१८० मतभारले अगाडि छ भने लुम्बिनीमा पनि एमालेसँग भन्दा गठबन्धनसँग २६६७ मतभार बढी छ । कर्णालीमा एमालेसँग १५३७ र गठबन्धनसँग ३७०७ मतभार हुँदा सुदूरपश्चिममा गठबन्धनसँग ४५१० र एमालेसँग १४८० मतभार छ ।

गठबन्धन कायमै रहे एमालेले राष्ट्रियसभाको आगामी चुनावमा एक सिट पनि जित्ने छैन । राष्ट्रपति चुनावपछि एमालेले सबैभन्दा ठूलो झट्का माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा भोग्नेछ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।