बाबुराम-पुष्पकमल सम्बन्धमा दरार : खेर गएकै हो त गोरखाको ‘गुन’ ?

भाद्र ७, २०८० |संगम ढकाल
बाबुराम-पुष्पकमल सम्बन्धमा दरार : खेर गएकै हो त गोरखाको ‘गुन’ ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईसँग एक वर्ष सहकार्य गर्न चुनौती दिँदै सार्वजनिक मञ्चमै भनेका थिए, ‘बाबुराम जस्तो अप्ठ्यारो मान्छेलाई मैले २५ वर्ष झेलेको छु ।’

तर, गत मंसिरको चुनावताका दाहाल र भट्टराई पुनः एकपटक सहकार्य गर्ने अवस्थामा आइपुगे । पुनर्मिलनको सुरुवात यति कसिलो भयो कि- चितवनबाट हार्ने जोखिममा रहेका दाहाललाई भट्टराईले आफ्नो गढ गोरखा २ मा लगेर चुनाव जिताए । भट्टराई नेतृत्वको समाजवादी पार्टी माओवादीकै चिह्न लिएर चुनावमा होमियो ।

भट्टराईले माओवादी पार्टी परित्याग गरेको सात वर्ष गुज्रिसकेको छ । चुनाव सकिएको पनि ९ महिना बित्यो । तर, दाहाल-भट्टराईको खटपट फेरि सुरु भएको छ । चुनावका बेला पार्टी एकता गर्ने बताए पनि माओवादी, एकीकृत समाजवादी, विप्लव समूह र जनता समाजवादी पार्टीको चारदलीय समाजवादी मोर्चा बनाउँदा दाहालले भट्टराईलाई सम्झिएनन् ।

त्यहीबेला दाहाल-भट्टराईबीच दूरी बढेको र पार्टी एकीकरण नहुने संशय पैदा भइसकेको थियो । तथापि प्रधानमन्त्री दाहालले कान्तिपुर टेलिभिजनको टफटकमा भनेका थिए, ‘बाबुरामजीसँग पार्टी एकताको सहमति भंग भएको छैन । मोर्चाका कतिपय साथीहरुले तपाईं त एउटै पार्टी हो नि, चुनाव चिह्न एउटै छ, फेरि मोर्चामा दुईवटा किन हुनुपर्यो भन्ने तर्क पनि राख्नुभएको हुनाले यो अवस्था आएको हो ।’

त्यसबेला प्रधानमन्त्री दाहालले भट्टराई समाजवादी मोर्चामा नअटाउनुको अर्को कारण जनता समाजवादी पनि भएको बताएका थिए । ‘जसपाबाट बढो तीतोसँग उपेन्द्रजी र बाबुरामजीको सम्बन्धविच्छेद भयो । त्यो भर्खरै सम्बन्धविच्छेद भएको हुनाले उपेन्द्रजीलाई फेरि एउटै मोर्चामा बस्न बढी नै असहज भयो,’ प्रधानमन्त्रीको भनाइ थियो ।

दाहालले केही सांसदलाई झुक्याएर माओवादी पार्टीको बनाउनुभएछ : बाबुराम भट्टराई

यो त थियो विगत । मोर्चामा नअटाएका भट्टराईको पार्टीका नेताहरुबाट आजभोलि माओवादीसँग एकताको कुरा सुनिन छाडिएको छ । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका दाहालले एकताका लागि समयमै निकाल्ने भ्याएनन् कि मोर्चामै व्यस्त भए ? चुनावलगत्तै हुने भनिएको दाहाल-भट्टराई एकता अझै भएको छैन ।

यहीबेला डा. भट्टराईले खरो टिप्पणी गरेका छन्, ‘भ्रष्टाचारको फाइल खोलेका कारण सरकार संकटमा छ । दाहाल कुर्सी जोगाउने अंकगणितको खेलमा छन् । ललिता निवासको विषयले मात्रचाहिँ नभनौं, अहिले जे-जे भइरहेको छ, खाली त्यो सरकार टिकाउने अंकगणितमा मात्रै सरकार अल्झिरहेको छ ।’

कान्तिपुर टेलिभिजनको टफटफमा बुधबार पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘माओवादीका तर्फबाट धोका भयो । उल्टै नै हाम्रा सांसदहरूलाई हाम्रो केही सांसदको परिचय खोसेर उहाँले आफ्नै परिचय दिनुभएछ, हामीलाई थाहा भएन ।’

आफू प्राविधिक रूपमा गठबन्धन दलमै भए पनि व्यवहारमा नभएको डा. भट्टराईको भनाइ छ । पछिल्लो दुई महिनादेखि दाहालले आफूलाई गठबन्धनको बैठकमा समेत बोलाउन छाडेको उनले खुलासा गरेका छन् । उनी भन्छन्, ‘केही सांसदहरूलाई झुक्याएर माओवादी पार्टीको बनाउनुभएछ । झुक्किएकाले अहिले हामी टेक्निकल्ली गठबन्धनमा भए पनि व्यवहारतः गठबन्धनमा छैनौं ।’

भट्टराई पछिल्ला यी अभिव्यक्तिले दाहाल-भट्टराईबीच दूरी बढेको र एकताको सम्भावना टरेको संकेत गर्छ । यससँगै प्रश्न उब्जन्छ- गोरखाबाट चुनाव जिताएर बाबुराम भट्टराईले लगाएको ‘गुन’ दाहालले बिर्सिएकै हुन् त ?