कांग्रेस महाधिवेशन तयारी तीव्र : २२ मतपत्र, १० घन्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

आश्विन १४, २०८३ |दशरथ राई
कांग्रेस महाधिवेशन तयारी तीव्र : २२ मतपत्र, १० घन्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको यही असोज १८ देखि २२ सम्म हुने १५औँ महाधिवेशनको तयारी धमाधम भइरहेको छ । 

काठमाडौंको खुल्लामञ्चमा उद्घाटन र बन्दसत्रका लागि व्यवस्थापनको काम भइरहको छ भने केही निर्वाचन क्षेत्रमा प्रतिनिधि मनोनयन पनि जारी छ। तोकिएको समयमा वडा, पालिका तथा क्षेत्रीय अधिवेशन नसकिँदा महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आउन भने ढिलाइ भइरहेको छ । 

महाधिवेशनको तयारी कसरी गरिरहेको छ कांग्रेसले ?

नेपाली कांग्रेसले १५औँ महाधिवेशन उद्घाटन र बन्दसत्रका लागि यतिखेर काठमाडौँको खुल्लामञ्चमा मञ्च व्यवस्थापनदेखि बन्द सत्र व्यवस्थापनका लागि निर्माणको काम धमाधम गरिरहेको छ । यता महाधिवशेन प्रतिनिधि चयन हुने प्रक्रिया पनि जारी छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा, पालिका र प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने क्रममा रहेको जनाएको छ । तोकिएको समयमा अधिवेशन नभएपछि कांग्रेसले सबै तहका अधिवेशन गरिसक्न बिहीबारसम्मको समय दिएको छ ।

महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नयाँ नेतृत्वका लागि सभापति, उपसभापतिसहित पदाधिकारी र क्लस्टर सदस्यहरुका लागि छुट्टाछुटै २२ वटा मतपत्र बनाउने र मतदान गरेको १० घन्टाभित्रै परिणाम सार्वजनिक गर्नेगरी तयारी भइरहेको बताए ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका पदाधिकारीहरुले समयअगावै १५औँ महाधिवेशन सम्पन्न गराउन लागेकाले पनि सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सहमतिमै चयन हुने बताए । सहमति नभए चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने महामन्त्री पौडलको भनाइ छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको दर्ताको काम १६ गतेदेखि नै खुल्लामञ्चमा सुरु गर्ने कार्यतालिका छ । कांग्रेसले महाधिवेशनको उद्घाटनका लागि समानान्तर महाधिवेशनको तयारीमा रहेका पूर्वसभापति शेरबहादुर देउवालाई पनि निम्त्याउने तयारी गरिरहेको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।