
काठमाडौं । शेरबहादुर देउवाको राजनीतिमा लामो समयदेखि हरदमका सारथी थिए पूर्णबहादुर खड्का ।
कतिसम्म भने जेन-जी आन्दोलनपछि सिंगापुर जानुअघि खड्कालाई पार्टीको नेतृत्व नै सुम्पिएका थिए देउवाले । तर, कांग्रेस विभाजनको संघारमा रहँदा खड्काले देउवाको साथ छोडेका छन् । उनी अहिले संस्थापनको पक्षमा त छन् तर आफ्नै हस्ताक्षरमा आधिकारिकताको मुद्दा लिएर अदालत गएका कारण खुलेर लाग्न नैतिक संकट परेको छ ।
देउवाका सबैभन्दा विश्वासपात्र र देउवा समूहकै मुख्य रणनीतिकार खड्काले राजनीतिक जीवनको उत्तरार्धमा देउवाको किन साथ छाडे ?
नाम- पूर्णबहादुर खड्का । तर, आज उनी पूर्णरूपमा न शेरबहादुर देउवाको पक्षमा छन्, न त गगन थापाकै पक्षमा। कुनै समय शेरबहादुर देउवाका मुख्य विश्वासपात्र थिए खड्का। गत असार ७ गते कांग्रेसको असन्तुष्ट पक्षले चुनदेवीमा सम्पर्क कार्यालय उद्घाटन गर्दा गेटको साँचो खड्काले नै खोलेका थिए । तर, पछिल्लो समय उनी त्यहाँ जान छाडेका छन्, त्यतिमात्रै होइन असन्तुष्ट समूह नै छाडेका छन् ।
साउन अन्तिममा खड्काकै नेतृत्वमा बसेको बैठकले राष्ट्रिय भेलाको मिति तोकेको थियो । भेलाको उद्घाटनमा पुगेका उनी त्यसयता सो समूहको बैठकमा समेत गएका छैनन् ।

के देउवा समूह छोडेका हुन् खड्काले ?
देउवा समूहले शशांक कोइरालालाई संयोजक तोकेर समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाएपछि खड्का विच्किएका हुन् । खड्कालाई नजिकबाट चिन्ने नेताहरु त्यहि भन्छन्। तर, उनले आफू भेट्न आउने नेता र संचारकर्मीलाई पार्टी विभाजनको पक्षमा नरहेकाले चुनदेवीबाट टाँढिएको बताउने गरेका छन् ।
हामीसँग पनि खड्काले पार्टी विभाजनतर्फ गतिविधि अगाडि बढेपछि चुनदेवीबाट अलग भएको बताए । खड्का देउवासमूहसँग टाँढिएसँगै भदौ २९ गते खड्का निवास गोल्फुटारमा भएको छलफलपछि ३१ नेताहरु संस्थापनको महाधिवेशन प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका थिए ।
वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन असोज २ को केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुग्नेहरुमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडालगायत थिए ।
नेता श्याम घिमिरेले खड्काकै सल्लाहमा आफूहरु संस्थापनको पक्षमा उभिएको र खड्काको पनि समर्थन रहेको बताए । देउवा समूहका नेताहरुका क्षेत्रमा वडा अधिवेशन नहुँदा खड्काको वडामा निर्वाध अधिवेशन भयो । तर, खड्का संस्थापनले गरेको महाधिवेशनमा तत्काल खुलेर लाग्ने पक्षमा छैनन् ।
असोज ३ को दिन वक्तव्य जारी गर्दै उनले महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको स्पष्ट पारे । साथै पार्टी विभाजनको डिलमा पुगेको उल्लेख गर्दै कांग्रेसको पुनरावलोकनको मुद्दालाई अग्राधिकारमा राख्न आग्रह गरे । देउवा र अरु अग्रज नेतासँग थापाकै अग्रसरतामा संवाद सुरु गर्न पनि खड्काले आग्रह गरिरहेका छन् ।
कतिपय कांग्रेस कार्यकर्ताले पछिल्लो समय खड्काको मुड-स्वीङ् भइरहेको भनेर टिप्पणी पनि गरेका छन् । तर, खड्का भने सर्वोच्चमा मुद्दा विचाराधिन रहेका कारण नैतिक रुपमा संस्थापनले गरेको महाधिवेशनमा नगएको बताउँछन् ।
देउवा सिंगापुरबाट फर्किएपछि दुवैबीच एकपटकमात्र भेट भएको छ । नेताहरुको दाबीअनुसार पछिल्लो समय त संवादहीनताकै अवस्था छ । खड्का न त चुनदेवी जान्छन्, न देउवा निवास । सभापति गगन थापासँग भने यसबीचमा खड्काले कम्तीमा दुई पटक भेट गरे।
एकपटक त थापा आफैं खड्का निवास पुगेका थिए। तर, थापाको पक्षमा पनि खड्का खुलेका छैनन्। रुख र झन्डा जहाँ छ म त्यहीँ छु, आफूलाई भेट्न आउने कार्यकर्तालाई खड्काले भन्ने गरेका छन् । सामान्यतया अड्कलेर बोल्ने तर खुलेर कसैसँग पनि लामो कुराकानी नगर्ने व्यक्तिगत स्वभावका कारण खड्का अहिले पनि बाहिर खुलेका छैनन् ।