काठमाडौं । शेरबहादुर देउवाको राजनीतिमा लामो समयदेखि हरदमका सारथी थिए पूर्णबहादुर खड्का ।
कतिसम्म भने जेन-जी आन्दोलनपछि सिंगापुर जानुअघि खड्कालाई पार्टीको नेतृत्व नै सुम्पिएका थिए देउवाले । तर, कांग्रेस विभाजनको संघारमा रहँदा खड्काले देउवाको साथ छोडेका छन् । उनी अहिले संस्थापनको पक्षमा त छन् तर आफ्नै हस्ताक्षरमा आधिकारिकताको मुद्दा लिएर अदालत गएका कारण खुलेर लाग्न नैतिक संकट परेको छ ।
देउवाका सबैभन्दा विश्वासपात्र र देउवा समूहकै मुख्य रणनीतिकार खड्काले राजनीतिक जीवनको उत्तरार्धमा देउवाको किन साथ छाडे ?
नाम- पूर्णबहादुर खड्का । तर, आज उनी पूर्णरूपमा न शेरबहादुर देउवाको पक्षमा छन्, न त गगन थापाकै पक्षमा। कुनै समय शेरबहादुर देउवाका मुख्य विश्वासपात्र थिए खड्का। गत असार ७ गते कांग्रेसको असन्तुष्ट पक्षले चुनदेवीमा सम्पर्क कार्यालय उद्घाटन गर्दा गेटको साँचो खड्काले नै खोलेका थिए । तर, पछिल्लो समय उनी त्यहाँ जान छाडेका छन्, त्यतिमात्रै होइन असन्तुष्ट समूह नै छाडेका छन् ।
साउन अन्तिममा खड्काकै नेतृत्वमा बसेको बैठकले राष्ट्रिय भेलाको मिति तोकेको थियो । भेलाको उद्घाटनमा पुगेका उनी त्यसयता सो समूहको बैठकमा समेत गएका छैनन् ।

के देउवा समूह छोडेका हुन् खड्काले ?
देउवा समूहले शशांक कोइरालालाई संयोजक तोकेर समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाएपछि खड्का विच्किएका हुन् । खड्कालाई नजिकबाट चिन्ने नेताहरु त्यहि भन्छन्। तर, उनले आफू भेट्न आउने नेता र संचारकर्मीलाई पार्टी विभाजनको पक्षमा नरहेकाले चुनदेवीबाट टाँढिएको बताउने गरेका छन् ।
हामीसँग पनि खड्काले पार्टी विभाजनतर्फ गतिविधि अगाडि बढेपछि चुनदेवीबाट अलग भएको बताए । खड्का देउवासमूहसँग टाँढिएसँगै भदौ २९ गते खड्का निवास गोल्फुटारमा भएको छलफलपछि ३१ नेताहरु संस्थापनको महाधिवेशन प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका थिए ।
वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन असोज २ को केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुग्नेहरुमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडालगायत थिए ।
नेता श्याम घिमिरेले खड्काकै सल्लाहमा आफूहरु संस्थापनको पक्षमा उभिएको र खड्काको पनि समर्थन रहेको बताए । देउवा समूहका नेताहरुका क्षेत्रमा वडा अधिवेशन नहुँदा खड्काको वडामा निर्वाध अधिवेशन भयो । तर, खड्का संस्थापनले गरेको महाधिवेशनमा तत्काल खुलेर लाग्ने पक्षमा छैनन् ।
असोज ३ को दिन वक्तव्य जारी गर्दै उनले महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको स्पष्ट पारे । साथै पार्टी विभाजनको डिलमा पुगेको उल्लेख गर्दै कांग्रेसको पुनरावलोकनको मुद्दालाई अग्राधिकारमा राख्न आग्रह गरे । देउवा र अरु अग्रज नेतासँग थापाकै अग्रसरतामा संवाद सुरु गर्न पनि खड्काले आग्रह गरिरहेका छन् ।
कतिपय कांग्रेस कार्यकर्ताले पछिल्लो समय खड्काको मुड-स्वीङ् भइरहेको भनेर टिप्पणी पनि गरेका छन् । तर, खड्का भने सर्वोच्चमा मुद्दा विचाराधिन रहेका कारण नैतिक रुपमा संस्थापनले गरेको महाधिवेशनमा नगएको बताउँछन् ।
देउवा सिंगापुरबाट फर्किएपछि दुवैबीच एकपटकमात्र भेट भएको छ । नेताहरुको दाबीअनुसार पछिल्लो समय त संवादहीनताकै अवस्था छ । खड्का न त चुनदेवी जान्छन्, न देउवा निवास । सभापति गगन थापासँग भने यसबीचमा खड्काले कम्तीमा दुई पटक भेट गरे।
एकपटक त थापा आफैं खड्का निवास पुगेका थिए। तर, थापाको पक्षमा पनि खड्का खुलेका छैनन्। रुख र झन्डा जहाँ छ म त्यहीँ छु, आफूलाई भेट्न आउने कार्यकर्तालाई खड्काले भन्ने गरेका छन् । सामान्यतया अड्कलेर बोल्ने तर खुलेर कसैसँग पनि लामो कुराकानी नगर्ने व्यक्तिगत स्वभावका कारण खड्का अहिले पनि बाहिर खुलेका छैनन् ।
शेरबहादुर देउवा र पूर्णबहादुर खड्का कसरी नजिकिए र खड्का कसरी देउवाको विश्वासपात्र बने ?
पूर्णबहादुर खड्का २०४४ देखि २०४८ सम्म कांग्रेस सुर्खेतका सभापति थिए । त्यसपछि केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति भए । २०४८ देखि लगातार सुर्खेतबाट चुनाव जित्दै आएका उनी २०७४ मा पराजित भए पनि २०७९ मा पुन: निर्वाचित भए ।
२०८२ को निर्वाचनमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा अदालतमा रहेका कारण टिकट नै लिएनन् । देउवाले खड्कालाई विगतदेखि नै महत्त्वपूर्ण जिम्मेवारी दिने गरेका थिए । देउवा आफू प्रधानमन्त्री हुँदा होस् वा कांग्रेसको समर्थनमा अन्य पार्टीसँग मिलेर सरकार बनाउँदा, खड्कालाई नौ पटक मन्त्री बनाए ।
गृह र रक्षा मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयसमेत सम्हाले । २०७९ चैतमा उनी उपप्रधान तथा रक्षामन्त्री भएका थिए । नवौं महाधिवेशनमा यी दुई अलग-अलग खेमामा थिए । गिरिजाप्रसाद कोइरालाको समूहमा देउवा रहँदा कृष्णप्रसाद भट्टराईको पक्षमा खड्का थिए ।
२०५२ पछि आफ्नै सरकार ढाल्ने खेलमा कोइरालासँग सम्बन्ध बिग्रिएपछि देउवा र खड्का एकै खेमामा पुगेका थिए । त्यसपछि १०औं महाधिवेशनदेखि एकै समूहमा रहे । देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउँदा पनि खड्का देउवा समूहमै रहे, दुई नेताको सम्बन्ध सुमधुर नै रह्यो ।
केही घटनामा मतभेद भए पनि खड्काले कहिल्यै देउवाको साथ छाडेनन् । कांग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका खड्कालाई सभापति देउवाले महामन्त्री मनोनित गरेका थिए । त्यतिबेलासम्म पनि देउवाको पहिलो रोजाइ थिएनन् । तर, १४औं महाधिवेशनमा देउवाका उत्तराधिकारीका रुपमा हेरिएका विमलेन्द्र निधिले सभापतिमा देउवालाई नै टक्कर दिएपछि खड्कालाई नजिकिने मौका मिल्यो। र, उनले देउवाकै प्यानलबाट उम्मेदवार रहेर उपसभापति जिते ।
१४औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन र संस्थापन पक्षलाई बलियो राख्न पूर्णबहादुर खड्काले नै मुख्य भूमिका निर्वाह गरेको कांग्रेस नेताहरु बताउँछन् । भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि नेतृत्व परिवर्तनको बहस उठेपछि देउवाले असोज २८ गते केन्द्रीय समितिमा उपस्थित भएर खड्कालाई नै कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए। अहिले पनि खड्का कार्यवाहक सभापतिको रुपमा सर्वोच्चमा रहेको मुद्दा पर्खिरहेका छन् ।